जुम्लाका किसानलाई सांसद ज्ञानेन्द्र शाहीको अपिल– भदौ १५ अघि स्याउ नटिपौं

कर्णाली । प्रतिनिधिसभा सांसद ज्ञानेन्द्रबहादुर शाहीले जुम्लाली किसानहरूलाई स्याउ टिपाइको मितिबारे संयम अपनाउन आग्रह गरेका छन्। उनले भदौ १५ अगाडि स्याउ नटिप्न सार्वजनिक अपिल गर्दै यसले जुम्लाको स्याउको गुणस्तर, मूल्य र ब्रान्ड छविमा दीर्घकालीन असर पर्ने खतरा औंल्याएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अपिल जारी गर्दै सांसद शाहीले भनेका छन्, ‘जुम्लाको स्याउ नेपालमै होइन, अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो अद्वितीय स्वाद र उच्च गुणस्तरका कारण चिनिन्छ। तर पछिल्ला वर्षहरूमा काँचो स्याउ भदौ १५ अघिनै टिप्ने प्रवृत्तिले हाम्रो गौरवलाई नै खतरा पुर्‍याइरहेको छ।’

उनका अनुसार काँचो स्याउ टिप्दा न त त्यसमा वास्तविक स्वाद र पौष्टिकता हुन्छ, न त भण्डारण क्षमता। यसले बजार मूल्य घटाउने मात्र होइन, जुम्लाको स्याउ ब्रान्डप्रति उपभोक्ताको विश्वाससमेत खल्बलिने खतरा रहेको सांसद शाहीको चेतावनी छ।

उनले थप लेखेका छन्, ‘केही दिनको धैर्यताले मात्र हाम्रो स्याउ पूर्ण रूपमा पाक्छ, गुलियो हुन्छ र किसानलाई राम्रो मूल्य दिलाउँछ। स्याउ चाँडो टिपेर तत्काल पैसा कमाउने लोभले दीर्घकालीन रुपमा हामीले ठूलो घाटा व्यहोर्नुपर्ने हुन्छ।’

श्याउ उत्पादनले जुम्लाको अर्थतन्त्रमा ठूलो भूमिका खेलेको उल्लेख गर्दै उनले सबै किसानलाई सामूहिक प्रतिबद्धता जनाउन र भदौ १५ पछि मात्र स्याउ टिप्न आग्रह गरेका छन्।

सन्देशको अन्त्यमा उनले लेखेका छन् ‘आउनुहोस्, हामी सबै मिलेर जुम्लाको स्याउको गौरवशाली परम्परालाई कायम राखौं र यसलाई अझ उचाइमा पुर्‍याऔं। तपाईंहरूको सहयोग र समझदारीको अपेक्षा गर्दछु।’

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१