
काठमाडौँ । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काँग्रेस र एमालेबीच भएको सहमतिका कारण मुलुकमा राजनीतिक स्थायीत्वको वातावरण बन्दै गएको बताएका छन्।
बिहीबार नेपाली काँग्रेस रामेछापले आयोजना गरेको कार्यक्रममा सिंहले दुई दलबीच भएको सात बुँदे सहमतिका कारण ६-६ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको र मुलुकमा राजनीतिक स्थायीत्वको वातावरण बन्दै गएको बताएका हुन्।
उनले आफूहरू सत्तामा जान र मन्त्री वा प्रधानमन्त्री हुन मात्रै सात बुँदे सहमति नभएको स्पष्ट पारेका छन्।काँग्रेस नेता समेत रहेका सिंहले पार्टीलाई विधि विधान अनुसार नै संस्थागत गरेर अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले काँग्रेसलाई विभिन्न चुनौती सामना गर्न सक्ने गरी पार्टीको नेतृत्व गर्ने चाहना रहेको बताए। सिंहले आफू पार्टी सभापति र प्रधानमन्त्रीबाहेक सबै पदमा पुगेकाले आफूसँग भएका अनुभव सबैलाई बाँड्दै पार्टीलाई बलियो बनाउन लाग्ने जिकिर गरेका छन्।