सगरमाथा आरोहण गर्ने दुई नेपाली महिला ड्यालस, टेक्ससमा सम्मानित

टेक्सस (अमेरिका) । विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने दुई नेपाली महिलालाई टेक्ससको ड्यालसमा सम्मान गरिएको छ ।

पाँचपटक सगरमाथा आरोहण गर्न सफल फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र दुईपटक सगरमाथा आरोहण गरेकी उषा बिष्टलाई ड्यालसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सभाकक्षमा एक कार्यक्रमबीच सम्मान गरिएको हो ।

नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, टेक्सस, नेपलिज् मेडिकल एसोसिएसनलगायतका सङ्घसंस्थाको संयुक्त आयोजनामा आयोजित सो कार्यक्रममा सगरमाथा आरोही श्रेष्ठ र बिष्टले हिमाल आरोहणका क्रममा भोगेका अनुभव प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित नेपाली समुदायले उनीहरूको अनुभव सुनेपछि भावुक हुँदै हिमाल आरोही दुवै जनालाई सम्मान गरिएको थियो ।

सो अवसरमा फोटोपत्रकार एवं हिमाल आरोही श्रेष्ठले विश्वका आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमालसमेत आरोहण गरेको र १३ दिनको अवधिमा तीनपटक सगरमाथाको चुचुरोमा पुगेको रोचक अनुभव सुनाएकी थिइन् ।

त्यस्तै, आरोही उषा विष्टले आफूले दुई पटक सगरमाथा आरोहण गर्नाका साथै नेपाल, संयुक्त राज्यअमेरिका, रुस र अष्ट्रेलियाका विभिन्न हिमालहरू सफलतापूर्वक आरोहण गरेको जानकारी दिइन् । हिमाल आरोही विष्ट सगरमाथा आरोहण गर्नै सुदूरपश्चिमकी पहिलो महिला हुन् । कार्यक्रममा ड्यालस क्षेत्रका नेपालीहरूले हिमाल आरोही श्रेष्ठ र विष्टले देखाएको अद्वितीय साहस, संकल्प र राष्ट्रिय गौरवको प्रशंसा गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१