
उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित धराली गाउँमा मंगलबार बिहान आरिघाेप्टे वर्षा (cloudburst) घटना हुँदा ठूलो जनधनको क्षति भएको छ। खीर गंगा नालाको जलस्तर एक्कासि बढेपछि आएको बाढीले गाउँमा विनाश मच्चाउँदा हालसम्म ४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५० जना भन्दा बढी बेपत्ता भएको आशंका गरिएको छ।
उत्तरकाशीका जिलाधिकारी प्रशान्त आर्यका अनुसार ‘धेरैजना पर्यटक, स्थानीय बासिन्दा र मजदुरहरू होटल तथा घरमै अड्किएका छन्।’
करिब २० वटा होमस्टे, पसल र घरहरू बगाएको विवरण सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार नजिकै रहेको गंगोत्री तीर्थयात्रा मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने विद्युत्, सञ्चार र सडकमार्ग सम्पर्क कटेको छ। बाढीका कारण धराली बजार क्षेत्र पूर्ण रूपमा जलमग्न भएको छ।
राहत र उद्धारका लागि एसडीआरएफ (SDRF), एनडीआरएफ (NDRF) र आईटीबीपी (ITBP) का टोलीहरू खटाइएका छन्। स्थानीय प्रशासनका अनुसार बाढीले बगाएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य तीव्र गतिमा भइरहेको छ।
मुख्यमन्त्री पुष्कर सिंह धामी र प्रधानमन्त्री नरेन्द्र मोदी दुवैले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना जनाएका छन्। गृह मन्त्री अमित शाहले केन्द्रबाट उद्धार कार्यमा आवश्यक सबै सहयोग पुर्याइने जनाएका छन्।
यसबीच, भारतको मौसम विभाग (IMD) ले उत्तराखण्डका पहाडी जिल्लाहरूमा आगामी केही दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। धराली गाउँमा अहिले पनि उद्धार कार्य जारी छ भने बेपत्ताहरूको खोजीमा थप हेलिकप्टर र विशेष टोली परिचालन गर्ने तयारी भइरहेको उत्तराखण्ड सरकारको भनाइ छ।
आरिघोप्टे वर्षा (Cloudburst) के हो ?
आरिघोप्टे वर्षा Cloudburst भन्नाले अत्यधिक तीव्र वर्षा हो, सामान्यतया १०० मिलिमिटरभन्दा बढी पानी एक घण्टामा एक स्थानमा खस्छ। यो स्थानीय र सीमित क्षेत्र मा हुने गर्दछ। साधारणतया पहाडी वा पर्वतीय क्षेत्रमा बढी देखिन्छ।
Cloudburst हुने मुख्य कारणहरू:
१. ओरोग्राफिक प्रभाव (Orographic Effect):
जब भारी जलवाष्पयुक्त बादलहरू पहाडसँग ठोक्किन्छन्, ती बादलहरू तीव्र रूपमा माथि उक्लिन्छन्, जसले गर्दा ती चाँडै चिसिन्छन् र भारी वर्षाको रूपमा खस्छन्।
२. भिजेको हावाको बहाव (Moisture-laden Winds):
समुद्र तथा अन्य जलस्रोतबाट आएको आर्द्र (भिजेको) हावा जब हिमाली वा पहाडी क्षेत्रमा प्रवेश गर्छ, त्यो हावा भारी जलवाष्प लिएर आउँछ। ती हावा जब पर्वतसँग ठोक्किन्छ, उचाइमा पुगेपछि चिसिँदै गहिरो वर्षा गराउँछ। यस्तो वर्षा अचानक धेरै मात्रामा हुन सक्ने भएकाले आरिघाेप्टे वर्षा (Cloudburst) को सम्भावना अत्यधिक हुन्छ।
३. स्थानीय संवहन प्रक्रिया (Local Convection):
गर्मीका कारण भू-तल अत्यधिक तात्दछ। त्यसै बेला माथिबाट चिसो हावा तल झर्छ। तातो सतहबाट पानीको वाष्पीकरण तीव्र गतिमा हुन्छ र माथि चढ्छ। माथि पुगेपछि ती वाष्प चिसो हावासँग मिसिएर तीव्र गडगडाहट र चट्याङसहित ठूलो वर्षा गराउँछ। यस्तो प्रक्रिया तीव्र रूपमा दोहोरिँदा आरिघोप्टे वर्षा (Cloudburst) हुन सक्छ ।
४. जलवायु अस्थिरता (Climatic Instability):
विश्वव्यापी जलवायु परिवर्तनका कारण वायुमण्डलीय संरचना अस्थिर बन्दै गएको छ। तापक्रमको असमानता, वायुचापको अनियमितता र वाष्पको मात्रा बढ्नुजस्ता कारणले मौसम प्रणाली अस्थिर हुन्छ। यस्तो अवस्थामा अचानक अत्यधिक वर्षा (cloudburst) हुने सम्भावना अत्यधिक हुन्छ।