२०८४ मा माओवादी केन्द्रको एकल बहुमत आउछ : अग्नि सापकोटा

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले पार्टीले आगामी २०८४ सालको प्रतिनिधि सभा चुनावमा एकल बहुमत ल्याउने दाबी गरेका छन्। स्थायी कमिटीको हालै सम्पन्न बैठकले पार्टीलाई नयाँ ऊर्जा प्रदान गरेको उल्लेख गर्दै उनले माओवादी केन्द्रले संगठन सुदृढीकरणको अभियानलाई असाधारण रूपमा अगाडि बढाइरहेको बताए।

उनका अनुसार जनवर्गीय संगठनहरू र विभिन्न मुक्तिमोर्चाहरू अहिले पार्टी निर्माणमा समर्पित भएर लागिपरेका छन्, जसले स्पष्ट बहुमत ल्याउने आधार तयार पारेको छ। हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानले पार्टीलाई जनतासँग गहिरो रूपमा जोडेको भन्दै उनले माओवादी फेरि गति लिएको बताए।

सापकोटाले विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग मिल्दा पार्टीको छुट्टै अस्तित्व नरहेको जस्तो देखिएको स्वीकार गरे। यसले शहीद परिवार, बेपत्ता परिवार र आम जनतासँगको सम्बन्धमा कमजोरी देखिएको उनले स्वीकारे। वर्गीय दृष्टिकोण प्रष्ट नहुनु र जनताप्रति बेवास्ता जस्तो देखिनु पनि कमजोरीका रूपमा उल्लेख गरे।

तर, २०८४ मा एकल बहुमत ल्याउने लक्ष्यसहित पार्टीले समाजवादी क्रान्तिको रुपरेखा र मागचित्र तयार गरेको जानकारी दिए। २०८१ पुस २१–२३ गते बसेको केन्द्रीय समिति बैठकले क्रान्तिको स्पष्ट खाका कोरेको भन्दै उनले पार्टी भित्र आत्मसमीक्षा र शुद्धीकरणको प्रक्रिया सुरु भएको बताए।

हुलाकी राजमार्ग अभियानमार्फत जनताका समस्या नजिकबाट बुझ्न पाएको र महेन्द्रनगरदेखि पोखरासम्मको मध्यपहाडी लोकमार्ग अभियानले जनसम्पर्क सुदृढ भएको उनको भनाइ छ।

सापकोटाले स्ववियु निर्वाचन, नेपाल पत्रकार महासंघको निर्वाचन र २०७९ सालको स्थानीय तहको नतिजा उदाहरण दिँदै कांग्रेस र एमाले जस्ता ठूला दलहरू एक ठाउँमा मिल्दा पनि माओवादीले सन्तोषजनक सफलता हासिल गरेको दाबी गरे।

उनले माओवादी केन्द्र जनताको मुद्दामा पुनः केन्द्रित हुन थालेको र त्यसैले जनता फेरि माओवादीतर्फ फर्किने विश्वास व्यक्त गरे।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१