रूपन्देही–३ उपनिर्वाचनः स्वतन्त्र रुपमा सन्तोष गिरीले थाले घरदैलो अभियान

देश परिवर्तनको मोडमा उभिएको र नेतृत्वमा प्रतिबद्धता, दूरदृष्टि र इमानदारीको खाँचो तीव्र भइरहेको अवस्थामा नयाँ पुस्ताले राजनीतिमा नेतृत्व लिनुपर्ने समय आइसकेको सन्देशसहित सन्तोष गिरीले राजनीतिक यात्रा अघि बढाएका छन्। औपचारिक उम्मेदवारी घोषणा नगरे पनि स्वतन्त्र उम्मेदवार बन्ने उद्देश्यसहित मतदाताको घरदैलोमा रहेका गिरीले हालै आफ्नो फेसबुकमा यस्तो सन्देश लेखेका छन्।

काठमाडौ महानगर प्रमुख बालेन शाहका पूर्वसल्लाहकार समेत रहेका गिरीले आगामी कार्तिक १७ गते हुने रूपन्देही–३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। तिलोत्तमा निवासी गिरी युवाहरुबीच बौद्धिक, सरल र मृदुभाषी नेताको रूपमा परिचित छन्।

हाल गिरी क्षेत्रका मतदातासँग निरन्तर भेटघाटमा व्यस्त छन्। उद्योगी–व्यवसायी, विभिन्न दलका स्थानीय नेताहरू, सामाजिक तथा व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरू, खेलकर्मी र सर्वसाधारणहरूसँग प्रत्यक्ष संवाद गर्दै उनी सुझाव र गुनासोहरू सुन्दै छन्। भैरहवादेखि बुटवल र शुद्धोधनसम्मको क्षेत्रमा गिरी जनप्रतिनिधिहरूसँग भलाकुसारीमा छन्।

भैरहवाका युवा उद्यमी राजकुमार गुप्ताका अनुसार सन्तोष गिरीले मतदाताको मन जित्न थालेका छन्। “दलहरुले जनभावना अनुसार काम नगर्दा मतदाताले विकल्प खोजिरहेका छन् र युवा उम्मेदवारको माग बढेको छ”, गुप्ताले बताए। गिरीले जनतामाझ प्रस्तुत गर्ने स्पष्ट योजना र क्षेत्रगत विकासको दृष्टिकोणले चुनावी माहोललाई तिब्रता दिएको उनले बताए।

संघसंस्था भेट्ने क्रममा नव टिकुलीगढ युवा क्लबद्वारा आयोजित यु-१८ नकआउट फुटबल प्रतियोगिताको उद्घाटनसमेत गिरीले गरेका छन्। उद्घाटनमा उनले नेपालमा खेलकुदको अपार सम्भावना रहेको, संरचना, लगानी र दीर्घकालीन योजना अभावले खेल क्षेत्रमा समस्या देखिएको उल्लेख गरे। खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

गिरीले शुद्धोधन गाउँपालिका–६ को गुरौली र रवडा नम्बर १, बेलवा जोड्ने पुलको निरीक्षण गर्दै त्यहाँको समस्या उजागर गरेका छन्। १३ वर्षअघि करोडौंको लगानीमा बनेको उक्त पुल अहिलेसम्म प्रयोगमा नआएको र दुबै छेउको बाटो नजोडिनु, पुलको डिजाइन त्रुटि र योजना साटासाट जस्ता प्रणालीगत बेथितिका कारण यो अवस्था आएको गिरीको भनाइ छ।

गिरी पछिल्ला दिनमा मतदातासँग प्रत्यक्ष संवाद, सुझाव संकलन र जनताका समस्या सुन्ने अभियानमा छन्। “अब जनतालाई केवल आश्वासन होइन, जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने नीति र योजनाहरू चाहिन्छ”, गिरी भन्छन्। जनताकै आवाजलाई मार्गदर्शक मानेर भावी रणनीति तय गर्ने उनको भनाइ छ।

गिरीको दौडधुपले अहिले क्षेत्रको चुनावी माहोलमा नयाँ बहस र चासो ल्याएको छ। किसानहरूले मल र सिचाइको अभाव, पर्यटन व्यवसायीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन र उचित पर्यटन नीति, उद्योगी व्यवसायीहरूले व्यवसायमैत्री नीति र राज्य संरक्षणको माग, सर्वसाधारणले रोजगारी, शिक्षा र स्वास्थ्यको सुधारको आवाज उठाइरहेका छन्।

स्थानीय तहमा दलहरूप्रति वितृष्णा बढिरहेको सन्दर्भमा गिरीको स्वतन्त्र उम्मेदवारी तयारीले कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वाप, राप्रपा र मधेशवादी दलहरूलाई दबाबमा पारेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१