
काठमाडाैं । भारतले मे महिनामा पाकिस्तानसँगको झडपमा पाँच फाइटर जेट र एक ठूलो सैन्य विमान खसाएको भारतले दाबी गरेको छ ।
वायुसेना प्रमुख एयर चीफ मार्शल अमरप्रीत सिंहले भारत-पाकिस्तान द्वन्द्वको तीन महिनापछि शनिबार यस्तो दाबी गरेका हुन् । दुई छिमेकीबीच दशकौंपछि भएको सबैभन्दा ठूलो सैनिक द्वन्द्वपछि भारतबाट आएको पहिलो आधिकारिक विवरण हो ।
सिंहले भारतको दक्षिणी शहर बेंगलुरुमा आयोजित एक सैनिक कार्यक्रममा भने, ‘हामीसँग कम्तीमा पाँच फाइटर जेट र एक ठूलो विमान खसाएको प्रमाण छ ।’
ठूलो विमान सम्भवतः निगरानी विमान भएको उनले बताए र यो विमान ३०० किलोमिटर टाढाबाट खसाइएको थियो । भारतले यसका लागि रूसमा निर्मित एस-४०० (सतह-देखि-हावा) मिसाइल प्रणाली प्रयोग गरेको सिंहले बताएका छन् । सिंहले यो घटना इतिहासकै सबैभन्दा ठूलो सतह-देखि-हावा मार गिरावट भएको बताए ।
सिंहले हवाई आक्रमणले पाकिस्तानका दुई एयरबेसमा पार्क गरिएका केही एफ-१६ फाइटर र दुई निगरानी विमानलाई पनि निशाना बनाएको बताए । सिन्ध प्रान्तको शाहबाज जकोबाबाद एयरबेसमा रहेको एफ-१६ जेटको आधा संरचना ध्वस्त भएको उनले उल्लेख गरे ।