
गाजा । गाजा सहरमा अवस्थित आफ्नो शिविरमा भएको इजरायली आक्रमणमा अलजजिराका एक प्रमुख रिपोर्टर, तीन क्यामेरामेनसहित दुई संवाददाताको मृत्यु भएको अल जजिराले जनाएको छ ।
इजरायली सेनाले हमाससँगसम्बद्ध पत्रकार अनस अल–सरिफलाई लक्षित गरी आक्रमण गरेको स्वीकार गरेको छ । गाजामा २२ महिनाको युद्धमा पत्रकारहरूलाई लक्षित गरिएको आक्रमणमा करिब २०० जना मिडियाकर्मीहरु मारिएको जनाइएको छ ।
अल जजिराका पत्रकार अनस अल–सरिफ गाजा सहरमा पत्रकारहरूलाई लक्षित गरी इजरायली आक्रमणमा चार सहकर्मीहरूसँगै मारिएको कतार मिडियाले जनाएको छ । अस्पतालको मुख्य गेट बाहिर पत्रकारहरूका लागि राखिएको शिविरमा प्रहार भएपछि २८ वर्षीय अल–सरिफको मृत्यु भएको थियो । मृतक अल जजिराका प्रसिद्ध अरबी संवाददाता रहेको बताइएको छ । च्यानलले गाजा सहरस्थित शिविरमा आक्रमण गर्दा पाँच जना कर्मचारी मारिएको पुष्टि गरेको छ।
इजरायली सेनाले अल जजिराका पत्रकार अल–सरिफलाई ‘आतङ्कवादी’ को संज्ञा दिदै लक्षित गरी प्रहार गरेको पुष्टि गरेको छ । “अल–सरिफले हमास आतङ्कवादी सङ्गठनमा आतङ्कवादी सेलको प्रमुखको रूपमा काम गरेकाले इजरायली नागरिक र सेनाविरुद्धका आक्रमण बढाउनका लागि जिम्मेवार रहेको आरोप लगाएको छ ।
अल–सरिफ नियमित कभरेजमा दैनिक रिपोर्ट गर्दै गाजामा काम गर्ने च्यानलका योग्य पत्रकार रहेको जनाइएको छ । “विश्वसनीय प्रमाण विना पत्रकारहरूलाई आतङ्कवादीको आरोप लगाई आक्रमण गर्ने इजरायली प्रवृत्तिले प्रेस स्वतन्त्रतामाथि गम्भिर प्रश्नहरू खडा गरेको सिपिजे क्षेत्रीय निर्देशक सारा कुदाहले बताएका छन् ।
प्यालेस्टिनी पत्रकारहरूको सङ्गठनले पत्रकारहरुको हत्या ‘रक्तपातपूर्ण अपराध’ भन्दै निन्दा गरेको छ । इजरायल र अल जजिराको वर्षौंदेखि विवादास्पद सम्बन्धबिच इजरायली अधिकारीहरूले देशमा च्यानलमा प्रतिबन्ध लगाएका छन् र गाजामा पछिल्लो युद्धपछि यसका कार्यालयहरूमा छापा मारेका छन् । अल जजिरालाई आर्थिक सहयोग गर्ने कतारले वर्षौँदेखि हमासको राजनीतिक नेतृत्वका लागि कार्यालय उपलब्ध गराउँदै आएको र इजरायल र हमासबीचको वार्ताका क्रममा ती कार्यालयहरूलाई प्रयोगसमेत गरिएको छ ।
गाजामा पे्रस पहुँच बन्द भएपछि विश्वभरका धेरै मिडियाहरू प्यालेस्टिनी पत्रकारहरूले प्रदान गरेको द्वन्द्वको फोटो, भिडियो र कभरेजमा निर्भर छन् । मिडिया नियमनकारी संस्था रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले गत जुलाईमा युद्ध सुरु भए देखि गाजामा अल जजिराका पत्रकारसहित २०० भन्दा बढी पत्रकार मारिएको बताएको थियो ।