संविधान संशोधन रोकिएला, कांग्रेस–एमाले राष्ट्रिय सभा चुनावमा सहमत हुने

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अबको ६ महिनामा हुने राष्ट्रिय सभाको निर्वाचनपछि संविधान संशोधनको विषय अगाडि बढ्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले प्रतिपक्षी दलहरु सरकारले सारेको मुद्दामा छलफल गर्न तयार नरहेको र राष्ट्रिय सभामा पनि दुई दलको प्रष्ट बहुमत नभएको कारण संविधान संशोधनको विषय अगाडि नबढाइएको बताएका हुन् । अबको ६ महिनापछि १९ सिटको लागि हुने राष्ट्रिय सभा निर्वाचनमा दुई दल मिलेर अगाडि बढ्ने पनि उनले बताए ।

‘सरकारमा नरहेका दलहरु सरकारले अगाडि सारेका मुद्दाहरुमा छलफल गर्नका लागि त्यति धेरै सकारात्मक भइसकेका छैनन् । वातारण त बनाउनुपर्यो नि त । वातारण नबनाइकन संविधान संशोधनजस्तो मुद्दामा एकैचोटी प्रवेश गर्ने कुरा उचित हुँदैन । अर्कोतिर राष्ट्रिय सभामा सरकारमा रहेका प्रमुख दलहरुको बहुमतसमेत सुनिश्चित छैन । अब ५/६ महिना पछाडि राष्ट्रिय सभामा १९ सिट खाली हुन्छ ।

त्यसपछि दुवै दल मिलेर हामी त्यसमा सफलता प्राप्त गर्छौं । अनुकूलता निर्माण गर्छौं । त्यसपछि हामी संविधान संशोधनको विषयमा व्यवस्थित रुपमा प्रवेश गर्छौं । हामीले जे भनेका छौं, हामी त्यो गर्नका लागि नै सरकारमा पुगेको हो । त्यो काम गर्छौं,’– उनले भने । साथै, फरक प्रसंगमा उनले नेपाली कांग्रेसको संस्थापन इत्तर पक्ष सरकारमा सहभागी भएर पनि प्रतिपक्षीको व्यवहार गरिरहेको बताए ।

कांग्रेस नेता शेखर कोइराला पक्षधरले सरकारसँग हिस्सा पनि खोजेको र सरकारको पक्षमा एक शब्दसमेत नबोलेको उनले बताए । ‘सरकारमा सामेल हुने, सरकारप्रति चाहिँ प्रतिपक्ष व्यवहार गर्ने । अझ शेखरजीको कुरा सुन्दाखेरी त कस्तो लाग्छ भने सरकारमा संस्थापन पक्षसँग हिस्साको लागि पनि वादविवाद गर्ने, हिस्सा प्राप्त गर्ने, तर सरकारको पक्षमा एक शब्द पनि नबोल्ने कुरा त नैतिक हिसाबले पनि राम्रो कुरा होइन । त्यो कुरा चाँहि उहाँले सुधार गर्नुपर्छ,’– उनले भने ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१