संसदीय दलको कार्यालयमा पुगेकी मञ्जु खाण भन्छिन्– बिहेको कार्ड लिन आएँ, हस्ताक्षरबारे थाहै छैन

काठमाडौं । मंगलबार सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्विपनै जारी गरेर सांसदलाई हस्ताक्षर गर्न संसदीय दलको कार्यालयमा बोलाए । उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन सुरु गरिएको आकंलन गरिएपनि एमाले, कांग्रेसका प्रमुख सचेतकले यस्तो नभएको बताएका छन् ।

हस्ताक्षर संकलन चलिरहँदा नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पुगेकी सांसद मञ्जु खाणलाई सञ्चारकर्मीले सोधेको प्रश्नमा आफूलाई जानकारी नभएको भनिन् । उनलाई महाभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गर्न आउनुभएको भनेर सोध्दा आश्चर्य व्यक्त गर्दै भनिन् ‘मलाई त थाहा छैन त, तपाईंहरुले नै भनेर मात्रै मैले थाहा पाएँ।’

महाभियोग लगाउनुपर्ने अवस्था हो त भन्ने प्रश्नमा उनले आफूलाई यस विषयमा केही थाहा नभएको दोहोर्‍याइन्। उनले भनिन्, ‘मलाई यो विषयमा जानकारी नै छैन। म त पिजन हलमा एउटा बिहेको कार्ड राखेको छ भनेर त्यो लिन आएको हुँ।’ उनले आफूलाई हस्ताक्षरका लागि कुनै फोन नआएको र पार्टीले ह्वीप लगाएको विषयमा पनि अनभिज्ञता प्रकट गरिन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१