गोकर्णेश्वर मेला आयोजना गर्न तयारी सकियो

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ।

बाबुको मुख हेर्ने दिनका रूपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले गोकर्णेश्वरमा गई आफ्ना बाबुका नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ । यसैअनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा शनिबार लाखौँ भक्तजन पितृप्रति सम्मान प्रकट गर्न आउने भएकाले मेलाका लागि लागि बिहीबारदेखि तयारी गरिएको छ । मेलाका लागि सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ ।

उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि सबै तयारी पूरा भएको समितिका अध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका-४ का वडाध्यक्ष जयराम महतले जानकारी दिए। मेला व्यवस्थापन गर्न आजैदेखि २०० जनाभन्दा बढी स्वयंसेवक परिचालन गरिएको उनले जानकारी दिए।

व्यवस्थापनका लागि सात उपसमिति गठन गरेर तयारी गरिएको छ । यातायात व्यवस्थापन, आर्थिक, स्वयंसेवक परिचालन, स्वास्थ्य, खोजतलास, धार्मिक, समन्वयलगायत उपसमिति गठन गरिएका हुन् । शनिबार नेपाल मेडिकल कलेज र माकालबारी सानो पुल क्षेत्रमै सार्वजनिक यातायात रोकी मन्दिर क्षेत्रमा प्रवेश गर्न नदिने गरी तयारी भएको समितिले जनाएको छ ।

औँशीको अघिल्लो दिन आज बिहानदेखि नै भक्तजन मन्दिर क्षेत्रमा आउन थालेका छन् । टाढाटाढाका भक्तजन आजै आएर मन्दिर क्षेत्रमा ठाउँ व्यवस्थापन गरी बस्न थालेका हुन् । मन्दिर परिसरमा बाबुको सम्मान गर्न भक्तजन आउने भएकाले यो औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । यसदिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुका नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ ।

यस अवसरमा रसुवाको बेत्रावती, देवघाटलगायत दोभान र त्रिवेणीमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध, तर्पण गर्ने भक्तजनको लर्को लाग्छ । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । मृत बाबुका नाममा भने गोकर्णेश्वरलगायत तीर्थस्थलमा गई श्रद्धाभक्तिपूर्वक तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।

यसदिन थोरै दान गरे पनि हजारौँ गुणाबढी फल पाइने पुण्य पर्व भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यसदिन घर घरमा पवित्र कुश भित्र्याएर कुशे औँशी पर्व पनि मनाइन्छ । वर्षभरि देवकार्य तथा पितृकार्यलगायत धार्मिक क्रियाकलापमा प्रयोग गरिने कुश यसैदिन वैदिक मन्त्रोच्चारणपूर्वक छेदन गरी घरमा राखिन्छ ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको शास्त्रीय मान्यता छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१