
वीरगञ्जमा हैजाको प्रकोप फैलँदै जाँदा शुक्रबारदेखि अहिलेसम्म ४४ जनामा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालमा उपचाररत १२९ मध्ये ४४ जनामा हैजा पोजिटिभ देखिएको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । झाडापखलाका लक्षणसहित अस्पताल आएका दुई जनाको मृत्यु भए पनि उनीहरूमा हैजा पुष्टि भएको छैन ।
विशेषज्ञहरूले खानेपानी पाइपमा ढल मिसिँदा दूषित पानीमार्फत संक्रमण फैलिएको आशंका गरेका छन् । प्रभावित ११ स्थानका पानी नमुना परीक्षणका लागि टेकु प्रयोगशालामा पठाइएको छ ।
नारायणी अस्पतालमा मात्रै ४४ बिरामीमध्ये २३ जनामा हैजा पोजिटिभ देखिएको छ । एक्कासि हैजाका बिरामी बढ्दा बेड अभाव भएको र केहीलाई भुइँमै राखेर उपचार गर्नुपरेको अस्पतालले जनाएको छ ।
अस्पताल र स्थानीय तहले शुद्ध पिउने पानी उपलब्ध गराउने, हात धुने बानी अपनाउने र जनचेतनामूलक अभियानमार्फत महामारी रोक्ने प्रयास गरिरहेका छन् । संघ र प्रदेश सरकारसँग पनि समन्वय भइरहेको स्थानीय तहले बताएका छन् ।