
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र इजरायली राजदूत श्मुलिक आरि बासबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटवार्ता भएको छ ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल–इजरायलबीचको ऐतिहासिक मित्रता रहेको उल्लेख गर्दै यसलाई अझ गाढा बनाउँदै अघि बढाउन आवश्यक रहेको बताए । उनले कृषि, श्रम रोजगार र स्वास्थ्य क्षेत्रमा दुवै देशबीच मुख्य सहकार्य भइरहेको जानकारी दिँदै नेपालीहरू इजरायलमा मुख्यतया कृषि र केयरगिभर क्षेत्रमा कार्यरत रहेको र यसलाई अझ व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।
मुख्यमन्त्री कार्कीले इजरायलमा भएको आधुनिक कृषि प्रविधि र नवप्रवर्तनका अनुभवलाई नेपालमा उपयोगी बनाउन सकिने उल्लेख गर्दै कोशी प्रदेश पनि सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन् । उनले कृषि उत्पादनको दृष्टिले कोशी प्रदेशमा प्रचुर सम्भावना रहेको र युवालाई कृषि उद्यमशीलतामा प्रेरित गर्न प्रदेश सरकारले ब्याज अनुदान दिने व्यवस्था गरेको जानकारी दिए ।
अन्तरक्रियामा मुख्यमन्त्री कार्कीले कृषकलाई शैक्षिक तथा व्यावहारिक तालिम उपलब्ध गराएर प्रदेशको आर्थिक विकासमा योगदान पु¥याउन सकिने विश्वास व्यक्त गरेका छन् । साथै, नेपाली युवा बिपिन जोशीको रिहाईका लागि इजरायली सरकारमार्फत पहल गरिदिन पनि आग्रह गरेका छन् ।
इजरायली राजदूत श्मुलिक आरि बासले नेपाल–इजरायलको सम्बन्ध पुरानो र गाढा रहेको उल्लेख गर्दै, पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पालादेखि सम्बन्ध सुमधुर रहेको स्मरण गराउँदै कृषि र केयरगिभर क्षेत्रमा काम गर्ने अवसरहरू इजरायलमा रहेको र सहकार्यको लागि तयार रहेको जानकारी दिएका छन् ।