
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टीमा आएर अध्यक्ष पदमा उम्मेदवारी दिएमा जित्ने सम्भावना नरहेको स्पष्ट पारेका छन्।
बुधवार काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने एमाले महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफलमा ओलीले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले भनेका छन्, ‘उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न। नेतृत्व लिने कुरा कुनै शो–पिस होइन, नेतृत्व क्षमता चाहिन्छ। परिस्थिति अनुसार डटेर सामना गर्ने साहस हुनुपर्छ।’
ओलीले भण्डारीले अध्यक्षमा उम्मेदवारी दिएर हार्ने, त्यसपछि पार्टी विरोधी गतिविधिमा लाग्ने सम्भावना औँल्याउँदै भीम रावललाई जस्तै कारबाहीको प्रक्रिया आवश्यक पर्न सक्ने चेतावनीसमेत दिए। उनका अनुसार, ‘उहाँ हार्नुभयो भने पार्टीविरुद्ध उत्रनुहुन्छ, त्यसपछि स्पष्टीकरण माग्ने र आवश्यक परे कारबाही गर्ने स्थिति आउन सक्छ।’
यस्ता अवस्थाबाट जोगाउनकै लागि आफूले भण्डारीलाई सम्मानजनक हैसियतमा बस्न र सक्रिय राजनीतिमा नआउन सुझाव दिएको ओलीले बताएका छन्।
‘मसँगको भेटमा पनि मैले उहाँलाई पार्टीमा समस्या खडा हुने गरी राजनीतिमा नआउन आग्रह गरेको थिएँ,’ उनले भने, ‘तर अहिले उहाँले च्यासलले सदस्यता खोस्यो, पार्टी नेतृत्वले देश चलाउन सकेन भन्नेजस्ता मिथ्या आरोपसहित सार्वजनिक टिप्पणी गर्न थालेकी छन्। उहाँ नजिकका व्यक्तिहरुले सम्झाउनुपर्छ, उल्काउनु हुँदैन।’
ओलीले भण्डारीले मिडिया र अन्य दलका नेताहरुसँग भेटघाट गर्दै सक्रिय राजनीतिमा आउने तयारी गरिरहेको गुनासो पनि गरे। यस्ता गतिविधिले पार्टीको आन्तरिक एकता र उद्देश्यमा बाधा पुर्याउने ठहर गर्दै पार्टी केन्द्रीय कमिटीले भण्डारीलाई सदस्यता नदिने निर्णय गरेको समेत उनले प्रस्ट पारे।
‘पूर्वराष्ट्रपति भण्डारीले पार्टीको विधि अनुसार सदस्यता लिने प्रक्रिया नअपनाई मिडिया र अन्य दलका नेताहरुसँग भेटघाट गर्दै सक्रिय राजनीतिमा आउने संकेत दिनुभयो’, ओलीले भने, ‘त्यसले पार्टी एकता र आन्दोलनको सम्मानमा आँच आउने भएकाले केन्द्रीय कमिटीले उहाँलाई सदस्यता नदिने निर्णय गरेको हो।’