संगठन सुदृढीकरण र उपनिर्वाचन केन्द्रित रास्वपाको ६ बुँदे निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले संगठन सुदृढीकरण, विभागीय सक्रियता, आगामी उपनिर्वाचन तयारीलगायतका विषयमा ६ बुँदे निर्णय गरेको छ ।

विहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले समसामयिक राजनीतिक परिवेश र पार्टीका संगठनात्मक गतिविधिबारे विस्तृत छलफल गर्दै भावी रणनीति तय गरेको हो ।संगठन गतिविधि, प्रशिक्षण कार्यक्रम र हस्ताक्षर अभियानको समीक्षासँगै आगामी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने तयारी गरिएको बैठकले जनाएको छ ।

पार्टीका चार केन्द्रीय विभाग, केन्द्रीय संगठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागलाई थप सक्रिय र प्रभावशाली बनाउने निर्णय बैठकबाट गरिएको छ ।प्रदेश, जिल्ला र स्थानीय तहको संरचनालाई सुदृढ बनाउने लक्ष्यसहित वडा, पालिका र जिल्ला अधिवेशन तोकिएको तालिका अनुसार सम्पन्न गर्ने कार्ययोजना तयार पार्ने जिम्मा सम्बन्धित प्रदेश इन्चार्जलाई दिने निर्णय गरिएको छ ।

संगठन सुदृढीकरणका लागि रणनीतिक प्रस्तावहरू तयार पारेर सचिवालयमा पेश गर्न पनि निर्देशन दिइएको छ ।रूपन्देही–३ मा हुन लागेको उपनिर्वाचनलाई लिएर बैठकले उम्मेदवार छनोट प्रक्रिया लोकतान्त्रिक, पारदर्शी र जनपक्षीय बनाउन प्रयासरत रहेको छ ।प्रारम्भिक छनोट प्रक्रियामा इमानदारीपूर्वक सहभागी ९ जना उम्मेदवारप्रति कृतज्ञता प्रकट गर्दै सबैलाई सामाजिक सद्भाव कायम राखी सहयोग गर्न आग्रह गरिएको छ ।

साथै, रूपन्देहीका नागरिक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई समर्थन र सहयोगका लागि धन्यवाद दिइएको छ । बैठकले पार्टी सञ्चालनका लागि अत्यन्त महत्वपूर्ण दुई कार्यविधिहरू प्रारम्भिक निर्वाचन कार्यविधि, २०८२ र वडा परिषद् कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।साथै, कृषि, स्वास्थ्य, उद्योग, वाणिज्य, श्रम, रोजगार तथा सहकारी क्षेत्रका विज्ञहरूलाई सम्बन्धित क्षेत्रमा समस्या विश्लेषण, समाधान खोजी तथा सुझावसहितको प्रतिवेदन तयार गर्ने कार्यमा संलग्न गराउने निर्णय गरिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१