
काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा भएको सवारीसाधन प्रदर्शनी मेला ‘नाडा अटो शो २०२५’ मा प्रदर्शनमा राखिएको फ्लाइङ ट्याक्सी नउडाई फिर्ता पठाइएको छ ।
गत भाद्र ३ गतेदेखि ८ गतेसम्म चलेको शोको मुख्य आकर्षणको रुपमा फ्लाइङ ट्याक्सी नेपालको पहिलो इभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग) उड्ने ट्याक्सी राखिएको थियो ।
नेपालमा पहिलो पटक यस्तो नविनतम प्रविधि भित्रिएकाले पनि फ्लाइङ ट्याक्सी हेर्नेको भीड थियो । कस्तो हुन्छ फ्लाइङ ट्याक्सी ? कसरी उड्छ भन्ने कौंतुहलताले पनि बच्चादेखि बुढाबुढीदेखिसम्म हेर्न पुगेका थिए ।
के हो फ्लाइङ ट्याक्सी ?
फ्लाइङ ट्याक्सी शो को प्रतिनिधित्व र हेरचाह गरिरहेकी लक्ष्मी घिमिरेका अनुसार फ्लाइङ ट्याक्सी चीनको अटो निर्माता चांगान अटोमोबाइल र विश्वप्रसिद्ध एरियल भेहिकल कम्पनी इह्याङको संयुक्त प्रयासमा बनेको हो । जसले एक पटक चार्ज गरेपछि ५० किलोमिटरको रेन्ज दिन्छ ।
उनले पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित ‘फ्लाइङ ट्याक्सी’मा दुईजनासम्म बस्न सक्ने क्षमता भएको जानकारी दिइन् । उनले भनिन्,‘चीनको अटो निर्माता चांगान अटोमोबाइल र विश्वप्रसिद्ध एरियल भेहिकल कम्पनी इह्याङको संयुक्त प्रयासमा बनेको हो । डिपल ईभीटीएल (इलेक्ट्रिक भर्टिकल टेक–अफ एन्ड ल्यान्डिङ) ‘फ्लाइङ ट्याक्सी’ भन्छौं यसलाई । यो एक पटक चार्ज गरेपछि ५० किलोमिटरको रेन्ज दिन्छ । यो पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित छ । यसले सिधा माथि–तल उडान तथा अवतरण गर्ने क्षमता राख्छ । यो फ्लाइङ ट्याक्सीमा दुईजनासम्म बस्न सक्ने क्षमता छ ।’
उनको अनुसार यसमा कुनै पाइलट चाहिँदैन्,अवतरण गर्ने ठाउँ सेटिङमा राखेर अटो पाइलड मोडमा चलाउन सकिन्छ । ‘यसमा कुनै पाइलट चाहिँदैन् । आफैले डेस्टिनेसन सेट गरेर अटो पाइलड मोडमा चलाउन सकिन्छ’ उनले भनिन् ।
किन नउडाई फिर्ता पठाइयो ‘फ्लाइङ ट्याक्सी’ ?
नाडा कार्यसमिति सदस्य मेघराज पौडेलका अनुसार फ्लाइङ ट्याक्सी चीनबाट प्रदर्शनमात्र गर्नको लागि धरौटीमा ल्याइएको थियो जुन प्रदर्शनपछि फिर्ता पठाइसकेका छन् । यसलाई उडाउन छुट्टै कानुन आवश्यक पर्ने तर नेपालमा फ्लाइङ ट्याक्सीको कुनै कानुन र नीति नभएको कारण उडाउन सम्भव नभएको उनले बताए ।
यसको नीति निर्माणको लागि बहस सुरु गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने,‘हामीले कल्पना गरेका थिएनौँ कि दुई वर्ष अगाडि नेपालमा फ्लाइङ ट्याक्सी आउँछ र नाडा अटो शो मै प्रदर्शनीमै भनेर । किनभने यो नीतिगत कुराहरू हुन्छन् । नीति निर्माताहरूले पनि यो विषयमा पर्याप्त अध्ययन नगरेको हुन सक्छ । भोलि आउला भनेर पोलिसी नीति बन्दैनन् । यहाँ समस्यासहित समाधान निकाल्ने हो । फ्लाइङ ट्याक्सी भोलि रेस्क्यु वा सर्ट डिस्टेन्सको लागि यसलाई सुरक्षित यात्राको लागि प्रयोग गर्न सक्छौँ । त्यसैले यसको नीति निर्माणको लागि हामीले अब काम सुरु गर्ने हो । यो बहसमा आयो अब ।’
नेपालमा ‘फ्लाइङ ट्याक्सी’ यातायातको विकल्प बन्न सक्छ ?
त्यस्तै ड्रोन हवका प्रवन्ध निर्देशक प्रविन भट्टराईका अनुसार नेपालमा ‘फ्लाइङ ट्याक्सी’ यातायातको विकल्प बन्ने सक्ने सम्भावना उच्च छ । ‘फ्लाइङ ट्याक्सी’ ले यातायातको एकदमै राम्रो विकल्प पर्यटन प्रवद्र्धनको लागि सहयोग पुर्याउने मात्र नभइ फ्लाइङ एम्बुलेन्सको समेत काम गर्न सक्ने उनको भनाई छ ।
उनले भने,‘फ्लाइङ ट्याक्सी’ यातायातको एकदमै राम्रो विकल्प बन्न सक्छ । झन् पर्यटन प्रवद्र्धनको लागि यति राम्रो हुनसक्छ । यसले केवल कारले जसरी काम गरिरहेको छ त्यसरी नै काम गर्न सक्छ । यो चाँडो पनि भयो । अर्को एउटा एयर ट्याक्सीको अनुभव पनि भयो । यसले त फ्लाइङ एम्बुलेन्सको समेत काम गर्न सक्छ । एकदमै राम्रो सम्भावना र विकल्प बन्न सक्छ ?’
त्यस्तै, निर्देशक भट्टराईका अनुसार फ्लाइङ ट्याक्सी सञ्चालन गर्न अन्तर्राष्ट्रिय रुपमा नै स्वीकृति पाउनुपर्छ । अनि मात्र नेपालले यस सम्बन्धी नीति निर्माण गर्न सक्छ ।
उनले भने,‘नेपालमा त झन यत्रो हिमालय क्षेत्रहरु छन्, जहाँ फ्लाइङ ट्याक्सी मार्फत ढुवानी गर्न सकिन्छ । तर यसमा एयरपोर्टसँग कम्युनिकेसन गर्न सक्नुपर्छ । यसले अन्तर्राष्ट्रिय रुपमा नै स्वीकृति पाउनुपर्छ । त्यसपछि मात्र नेपालले यसको बारेमा नीति बनाउन सक्छ । अहिले नेपालले नीति निर्माण गर्न सक्दैनन् ।’
कस्तो पूर्वाधारको आवश्यक पर्छ ‘फ्लाइङ ट्याक्सी’को लागि ?
यसको लागि हेलिप्याडको जस्तै भर्टिपोर्ट आवश्यक हुने निर्देशक भट्टराईले जानकारी दिए । साथै ट्राफिक व्यवस्थाको लागि अनम्यान ट्राफिक म्यानेजमेन्टको पनि आवश्यक रहेको उनको भनाइ छ ।
‘हेलिप्याडको जस्तै भर्टिपोर्ट आवश्यक हुन्छ । अर्को भनेको अनम्यान ट्राफिक म्यानेजमेन्टको पनि आवश्यक हुन्छ । अहिले म्यान ट्राफिक म्यानेज गरिरहेको छ । त्यसरी नै अन म्यान ट्राफिक म्यानेजमेन्ट गर्न सक्नुपर्छ,’उनले भने ।