
विश्व इतिहासको अध्ययन गर्दा स्पष्ट देखिन्छ कि भुमण्डलीकरण र आर्थिक सामाजिक परिवर्तनहरूले मुलुकहरूको विकास र राजनीतिक संरचनामा फरक असर पारेका छन्। पश्चिमी मुलुकहरूमा करिब १७औँ शताब्दीमा सुरु भएको औद्योगिक क्रान्तिले उत्पादन र श्रमको संरचना परिवर्तन गर्यो र पूँजीवादको चरम विकासलाई जन्म दियो। १८औँ र १९औँ शताब्दीमा जर्मनी, फ्रान्सलगायतका युरोपेली मुलुकहरूमा पूँजीवादको विस्तारसँगै श्रमिक वर्गमाथि असमानता र शोषण बढ्दै गयो। यही क्रममा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले साम्यवादको सिद्धान्त प्रस्तुत गरे, जसले नयाँ विचारधारात्मक आन्दोलनलाई जन्म दियो।
२०औँ शताब्दीमा, विशेषत दोस्रो विश्वयुद्धपछि, साम्यवाद विश्वव्यापी रूपमा फैलियो। सोभियत संघ (USSR) ले कम्युनिष्ट राजनीतिक प्रणालीको मार्ग देखायो भने चीन, क्युबा, भियतनामजस्ता मुलुकहरूमा यसले राजनीतिक संरचना परिवर्तन गर्यो। तर, १९९० को दशकपछि नवउदारवादको बढ्दो प्रभाव र भुमण्डलीकरणको लहरले विश्वव्यापी अर्थतन्त्र र राजनीति दुवैलाई नयाँ ढाँचामा पुनर्संरचना गर्यो। आज शक्तिको केंद्रीकरण, भ्रष्टाचार, माफियातन्त्र र असमानताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थिरतालाई चुनौती दिइरहेको छ।
नेपाल पनि यी घटनाहरूको प्रभावबाट अछुतो रहन सकेन।
२००७ सालमा भएको लोकतान्त्रिक आन्दोलनपछि पहिलो पटक बहुदलीय लोकतन्त्रको आधार तयार भयो। तर, त्यसको स्थिरता टिकाउन सकिएन।२०४६ को दोस्रो जनआन्दोलनले पुनः बहुदलीय लोकतन्त्र ल्यायो, तर दलभित्रको नेतृत्व संघर्ष, असंगठित व्यवस्थापन र व्यक्तिवादले लोकतान्त्रिक संरचनालाई कमजोर बनायो। २०५२-२०६२ चलेको माओवादी जनयुद्धले ग्रामीण असमानता र सामाजिक न्यायको सवाललाई उठाए पनि त्यसपछिका उपलब्धिहरु भ्रष्टाचार र अस्थिरताको मूल कारण बने। नेकपा एमालेले प्रत्यक्ष नेतृत्वभन्दा बढी आन्दोलनहरूमा सहायक भूमिका मात्र खेलेको देखिन्छ। यद्यपि, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता नेताहरूको योगदान अलग्गै मूल्याङ्कन गर्नुपर्ने विषय हो।२०६५ वि.सं.मा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भए पनि राजनीतिक स्थिरता अझै चुनौतीपूर्ण बनिरहेकै छ।
समस्या केवल संरचनामा मात्र सीमित छैन। नेपाली कांग्रेसभित्र परिपक्व र दूरदर्शी नेतृत्वको कमी स्पष्ट छ। कम्युनिष्ट दलहरू प्रायः सतही विचारमा सीमित छन्। नयाँ भनिएका दल वा आन्दोलनहरूमा अनुसन्धान, अनुभव र दीर्घकालीन दृष्टिकोणको अभाव देखिन्छ। यसैले राष्ट्रिय हितभन्दा बढी व्यक्तिगत वा दलगत स्वार्थलाई प्राथमिकता दिने प्रवृत्ति मौलाएको छ।
नेपालको वर्तमान अवस्थामा केवल संरचनात्मक सुधारले मात्र काम हुँदैन। देशलाई स्थायी विकास, सामाजिक न्याय र राजनीतिक स्थिरतामा लैजान सक्षम, मौलिक सोचसहितको वैचारिक नेतृत्व अनिवार्य छ। समय र परिस्थितिअनुसार लचकशील, परिपक्व र दूरदर्शी नेतृत्वले मात्र नेपालको भविष्य सुरक्षित गर्न सक्छ।
नेपालले विश्वभुमण्डलीकरणको प्रभावलाई सन्तुलित ढंगले आत्मसात गर्दै “सन्तुलित विकासशील देश” बन्ने बाटो रोज्न जरुरी छ। अतिवाद र व्यक्तिवादलाई छोडेर अनुसन्धान, रणनीति र राष्ट्रिय हितलाई प्राथमिकता दिने नेतृत्व खोज्ने समय अब आएको छ।
अन्ततः विश्व इतिहास र नेपालको राजनीतिक यात्राले देखाएको कुरा के हो भने दीर्घकालीन स्थिरता, आर्थिक समृद्धि र सामाजिक न्याय बिना परिपक्व नेतृत्व, दिगो नीति, मौलिक सोच र सामूहिक दृष्टिकोण सम्भव हुँदैन। नेपालले आजको चुनौती पार गर्न, अतिवादी सोच र नक्कली नेतृत्वको सट्टा विवेकी र जिम्मेवार नेतृत्व खोज्नु अनिवार्य छ।
लेखक तारा थापा नेपाली कांग्रेसका युवा नेता, भूगोल जापान