दक्षिण एसियाको कुन-कुन देशमा दर्ता भएर चलिरहेका छन् सामाजिक सञ्जाल ?

सरकारले फेसबुक, युट्युब, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल कम्पनीहरू नेपालमा कानुनी रूपमा दर्ता हुन नआएको भन्दै बिहीबारदेखि ती प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेको छ। सरकारले लिएको निर्णयपछि अधिकांश इन्टरनेट सेवा प्रदायक (आईएसपी) र टेलिकम प्रदायक कम्पनीहरूले सामाजिक सञ्जाल बन्द गरेसँगै अहिले नेपालमा फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक, ट्विटर (एक्स), टेलिग्राम, स्न्यापच्याट लगायत दुई दर्जनभन्दा बढी सामाजिक सञ्जालहरू चलेका छैनन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको निर्देशनअनुसार सेवा प्रदायक कम्पनीहरूले बिहीबार बेलुकैदेखि सामाजिक सञ्जालहरू बन्द गरेका हुन्। मन्त्रालयका अनुसार पटक–पटक जानकारी दिँदा पनि कम्पनीहरूले नेपालमा दर्ता भएर कार्यालय स्थापना नगरेको, सम्पर्क व्यक्ति नतोकेको आधारमा प्रतिबन्ध लगाइएको हो।

यस निर्णयपछि सामाजिक सञ्जालको प्रयोगमा आश्रित सञ्चार, मिडिया हाउस, व्यवसाय,  मार्केटिङ तथा व्यक्तिगत सञ्चार प्रभावित बनेको छ। धेरै प्रयोगकर्ताहरूले सञ्जाल बन्द हुँदा असहज भइरहेको गुनासो गरेका छन् भने केहीले भिपिएनमार्फत सञ्जाल चलाउने प्रयास गरिरहेका छन्।

सरकारले भने सामाजिक सञ्जाल कम्पनीहरू नेपालमा दर्ता भई कानुनी दायित्व पूरा गर्न तयार भएमा प्रतिबन्ध तत्काल हट्ने अभिव्यक्ति दिइरहेको छ।

पछिल्लो समय नेपालसहित दक्षिण एसियाका अधिकांश देशहरूमा सामाजिक सञ्जालको प्रयोग बढ्दै गइरहेको छ। व्यक्तिगत जीवन, व्यवसाय, राजनीति र सञ्चारको माध्यमका रूपमा सामाजिक सञ्जालको प्रयोग बढ्दो छ।

दक्षिण एसियाली अन्य देशहरूमा सामाजिक सञ्जाल दर्ताको अवस्था के कस्तो छ त ?

भारत

दक्षिण एसियाकै ठुलो छिमेकी मुलुक भारतमा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, युट्युब लगायतका सामाजिक सञ्जालहरू दर्ता भई सञ्चालनमा रहेका छन्। यी प्लेटफर्महरूले स्थानीय प्रयोगकर्ताहरूका गुनासोहरू सुन्न र समाधान गर्नको लागि सम्पर्क व्यक्ति नियुक्त गरेका छन्। सम्पर्क व्यक्तिले भारत बाहिर बसेर भए पनि भारतका प्रयोगकर्ताहरूका गुनासोहरू सुन्ने र समाधान गर्ने जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ।  विशाल भूगोल र जनसङ्ख्या रहेको मुलुक भारतमा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, युट्युब लगायतका सामाजिक सञ्जालहरू अत्यधिक लोकप्रिय छन्। चर्चित एप टिकटक भने भारतमा प्रतिबन्धित गरिएको छ जसको विकल्पमा भारतमै विकास गरिएका छोटो भिडियो राखिने एपहरू मोज, जोस, रोपोसो र चिङ्गारी पनि धेरै प्रयोग हुने सामाजिक सञ्जालहरूमा पर्छन्।

पाकिस्तान

त्यस्तै अर्को दक्षिण एसियाली मुलुक पाकिस्तानको नियम अनुसार फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल कम्पनीहरूले आफ्नै स्थानीय कार्यालय स्थापना गर्नुपर्छ। पाकिस्तानी सरकार यस्ता कम्पनीहरूलाई नियमहरूको पालना गराउँदै दर्ता हुन निरन्तर दबाब दिइरहेको छ। तर ती कम्पनीहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने भन्दै दर्ता हुन मानिरहेका छैनन् । पाकिस्तानमा युट्युब सबैभन्दा धेरै प्रयोग हुने प्लेटफर्म हो। त्यसपछि फेसबुक, टिकटक, इन्स्टाग्राम र ट्विटर पनि लोकप्रिय छन्। विशेष गरी पाकिस्तानका शहरी क्षेत्रमा ट्विटरको प्रयोग अत्याधिक देखिन्छ।

बङ्गलादेश

बङ्गलादेशमा पनि सामाजिक सञ्जाल दर्ता हुनुपर्ने भन्दै सरकारले ताकेता गरिरहेको छ । बङ्गलादेश सरकारले फेसबुक, युट्युब लगायतका कम्पनीहरूलाई देशमै कार्यालय स्थापना गर्न र स्थानीय प्रतिनिधि नियुक्त गर्न पटक–पटक आग्रह गर्दै आएको छ। नेपालमा जस्तै बङ्गलादेशी सरकारको तातेकालाई सामाजिक सञ्जालहरूले नकारिरहेका छन् । बङ्गलादेशमा फेसबुक र युट्युब नै प्रचलित छन्। तर पछिल्लो समय भने टिकटक र इन्स्टाग्राम प्रयोग पनि बढिरहेको छ ।

श्रीलङ्का

श्रीलङ्काले हालै लागू गरेको ‘अनलाइन सुरक्षा कानुन’ मार्फत सामाजिक सञ्जालहरूलाई नियमन गर्न खोजिएको छ। यो कानुनअनुसार सामाजिक सञ्जाल कम्पनीहरूले श्रीलङ्कामा अनिवार्य रूपमा आफ्ना प्रतिनिधि नियुक्त गर्नुपर्ने व्यवस्था गरिएको छ। श्रीलङ्कामा पनि आधिकारिक रूपमा सम्पूर्ण सामाजिक सञ्जाल दर्ता भएका छैनन् ।युट्युब, टिकटक र फेसबुक श्रीलङ्का सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल हुन्। इन्स्टाग्राम प्रयोगकर्ताको सङ्ख्या पनि श्रीलङ्कामा बिस्तारै बढिरहेको छ।

अफगानिस्तान

अफगानिस्तानमा भने सामाजिक सञ्जाल दर्ता प्रक्रिया र नियमनका लागि कुनै ठोस कानुन छैन । तर अफगानिस्तानको सूचना र संस्कृति मन्त्रालयले सामाजिक सञ्जालको सञ्चालनलाई थप व्यवस्थित गर्नका लागि सञ्चारसम्बन्धी विद्यमान कानुनमा सामाजिक सञ्जालसम्बन्धी नयाँ व्यवस्था थप्ने योजना बनाएको छ। तर अझै कानुन भने बनेको छैन।

अफगानिस्तान फेसबुक प्रमुख सामाजिक सञ्जाल हो। त्यसपछि ट्विटर, इन्स्टाग्राम र युट्युब प्रयोगमा छन्। देशको राजनीतिक अस्थिरता र इन्टरनेट पहुँचमा सीमितताका बाबजुद युवाहरू सामाजिक सञ्जालमा सक्रिय छन्।

भुटान

भुटानको सन्दर्भमा भने सामाजिक सञ्जाल कम्पनीहरूलाई दर्ता गर्न वा भुटानमै कार्यालय खोल्न हालसम्म अनिवार्य गरिएको छैन । फेसबुक, युट्युब, इन्स्टाग्राम जस्ता प्लेटफर्महरू दर्ता विना नै निर्बाध रूपमा सञ्चालन भइरहेका छन् ।

भुटानमा पनि फेसबुक नै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो। साथै इन्स्टाग्राम, मेसेन्जर, लिङ्कडइन, वीच्याट र युट्युब पनि प्रयोग गरिन्छ। केही प्रयोगकर्ताले चिनियाँ सञ्जाल वीच्याटको पनि प्रयोग गर्ने गरेका छन्।

मालदिभ्स

अर्को दक्षिण एसियाली मुलुक मालदिभ्समा सामाजिक सञ्जाल प्लेटफर्म दर्ता सम्बन्धमा प्रस्ट रूपमा कुनै पनि कानुनले बोल्दैन । हालसम्म कुनै पनि कानुनले फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जाल कम्पनीहरूलाई दर्ता गर्न वा स्थानीय कार्यालय खोल्न बाध्य बनाएको छैन। मालदिभ्समा इन्स्टाग्राम सबैभन्दा बढी प्रयोग हुने प्लेटफर्म हो। त्यसपछि लिङ्कडइन, भाइबर, टेलिग्राम, फेसबुक, ट्विटर र ह्वाट्सएप पनि प्रयोग गरिन्छ। मालदिभ्स पर्यटकीय गन्तव्यका लागी उपयुक्त मानिन्छ त्यसैले पर्यटन व्यवसायमा संलग्न व्यक्तिहरू लिङ्कडइनमा बढी सक्रिय देखिन्छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१