• २०८३ जेठ २२
  • 2026 June 05, Friday

ललितपुर महानगरले विकास समितिका दुई भवनमा डोजर चलायो

  • २०८२ भदौ २२, आइतबार १२:३५

काठमाडौं । ललितपुर महानगरपालिकाले आइतबार बुद्धिविकास मंगल तथा क्षयरोग निवारण संस्था अन्तर्गतका दुई भवनमा डोजर चलाएको छ ।

महानगरले ती भवनहरू सार्वजनिक योजना अन्तर्गतको क्षेत्रमा परेकाले हटाउनु परेको जनाएको छ ।ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले, भवनहरू डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) अनुसारको विकास कार्यक्षेत्रभित्र परेकाले भत्काउनु अपरिहार्य भएको बताए।
‘बुद्धिविकास मंगल र क्षयरोग निवारण संस्था ललितपुर जिल्ला कार्यसमितिका दुईवटा भवनहरू जुन ठाउँमा थिए, त्यो हाम्रो डीपीआर गरिएको कार्यक्षेत्रभित्र पर्दछ,’उनले भने, ‘त्यसैले यी भवनहरू हटाउनु आवश्यक भयो ।’

उनका अनुसार यसअघि नै सोही क्षेत्रमा पर्ने वडा नं. ५ को वडा समितिको भवन र अन्य पसलहरू पनि हटाइएको थियो । ‘हामीले त्यस क्षेत्रका सबै संरचनाहरू विधि पूर्वक हटाएका हौं । यी दुई भवन पनि कानुनी प्रक्रिया पूरा गरेर हटाइएको हो,’ उनले भने ।महानगरपालिकाले ३५ दिनको सूचना अवधि दिएर भवन खाली गर्न आग्रह गरेको थियो । सो अवधि शनिबार सकिएपछि आइतबार कार्यालय समयमै डोजर प्रयोग गरी भवनहरू भत्काइएको हो ।

  • २०८२ भदौ २२, आइतबार १२:३५