हुलाक सञ्चार सम्पादकीय: जेनजीको प्रदर्शन सत्ता र नेतृत्वलाई अन्तिम चेतावनी

सन् १९९७ देखि २०१२ सम्ममा जन्मिएका जेनजी उमेर समूहका युवाहरू आज काठमाडौँसँगै देशभरका प्रमुख सहरहरूमा प्रदर्शनमा उत्रिए । भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्द विरुद्ध उनीहरू स्वतःस्फूर्त रूपमा सडकमा आएका थिए । प्रदर्शनको सुरुवात शान्तिपूर्ण थियो तर सरकारको अत्यधिक बल प्रयोगले यसलाई हिंसात्मक बनायो। यो सम्पादकीय तयार पार्दासम्म १९ जना प्रदर्शनकारीहरूको मृत्यु भइसकेको छ भने ३ सय बढी घाइते छन् ।
लोकतान्त्रिक मूल्य मान्यता अँगालेको समाजमा सडकमा गएर आफ्ना आवाज उठाउनु स्वाभाविक कदम हो । आन्दोलन नै आन्दोलन देख्दै र सुन्दै आएको यस जेनजी पुस्तालाई समेत त्यो अधिकार छ । तर यसअघि कहिल्यै पनि यो तहमा जेनजी पुस्ता सडकमा आएको थिएन । उनीहरूमा सरकार, डेलिभरीको अभाव, बेरोजगारी, भ्रष्टाचार र बेथिति विरुद्ध नैराश्यता तथा आक्रोश भए पनि त्यो सामाजिक सञ्जालमार्फत प्रस्फुटित भइरहेको थियो । तर सरकारले सामाजिक सञ्जालमा समेत बन्देज लगाएर युवाको अभिव्यक्ति थुन्न खोजेपछि युवाहरूमा गुम्सिएको आक्रोश आजको प्रदर्शनका दौरान विस्फोट भएको हो ।
तर यो विस्फोट गराउन भने सरकार स्वयं उद्धत देखियो । प्रहरीले प्रदर्शनकारीहरूमाथि व्यापक बल प्रयोग गरेर दमन गर्ने नीति अँगाल्यो । प्रदर्शनकारीहरूले कुनै सुरक्षाकर्मी माथि आक्रमण नगरेको र सार्वजनिक सम्पत्तिमाथि क्षति नपुर्‍याएको स्थितिमा प्रहरीले स्वयता अपनाउन सकेन र प्रदर्शनकारीमाथि बर्बरता अपनाउन पुग्यो । यसले गर्दा प्रदर्शनकारीहरू थप उत्तेजित बन्न पुगे र कलेज पढ्ने निर्दोष विद्यार्थीहरूले ज्यान गुमाउने स्थिति बन्यो । समाचार सङ्कलन र दृश्य कैद गर्न पुगेका पत्रकारहरूमाथि समेत गोली चलाइनु र अस्पताल भित्रै पसेर अश्रु ग्यास प्रहार र लाठीचार्ज गर्नुले प्रहरीले कुन हदसम्मको दमनको नीति लिएको थियो भन्ने स्पष्ट हुन्छ ।
यसका लागि गृहमन्त्री रमेश लेखक पूर्ण जिम्मेवार छन् । युवाहरूको प्रदर्शन चलिरहँदा लेखक भने संसदीय समितिमा थिए । संसद् भवन अगाडि नै मुठभेडको अवस्था देखापरेपछि बल्ल उनी समितिबाट निस्किएका थिए । गृहमन्त्रीका रूपमा लेखकको असक्षमता र विवाद यसअघि पनि देखापरेको थियो । भिजिट भिसा प्रकरणमा अख्तियारले छापा मार्ने पूर्व सूचना पाएका लेखकले त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई मन्त्रालयमा सरुवा गरेर जोगाउन खोजेका थिए । भिजिट भिसा प्रकरणमा उनै लेखकमाथि नै प्रश्न उठेपछि उनको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग राख्दै प्रतिनिधि सभामा राप्रपा र रास्वपाले लगातार बैठक बहिस्कार गर्दै आएका छन् । तर झन्डै २ तिहाइको शक्तिशाली सरकारको गृहमन्त्री रहेका लेखक र प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेपाली काँग्रेसले उनलाई जोगाउँदै आएका छन् । तर आजको घटनाले भने अब उनी जोगिन सक्ने ठाउँ छैन र उनको राजीनामा निर्विकल्प सर्त हो ।
तर आजको घटना निम्तिनुमा लेखक मात्रै नभएर सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत उत्तिकै जिम्मेवार छन् । सञ्चार मन्त्री गुरुङले, खासगरी, सामाजिक सञ्जाल दर्तामा नआएको विषयमा प्रभावकारी भूमिका निभाउनुको साटो गैरजिम्मेवार अभिव्यक्ति दिइरहे । उता, प्रधानमन्त्री ओलीले यस बिचमा दिएका अभिव्यक्तिहरूले समेत आगोमा घ्यु थप्ने काम गरे । शनिबार हरिसिद्धिमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सवार गाडीले एक बालिकालाई ठक्कर दिएर हिँड्यो । तर ओलीले त्यसलाई घटनालाई ‘सामान्य’ भने र त्यसपछि विरोधमा उत्रिएका स्थानीयहरूको कदमलाई ‘राजनीति’ भनिदिए । हरेक कुरामा राजनीति देख्ने र आफ्नो विरोध गर्ने विरुद्ध तुच्छ अभिव्यक्ति दिइरहने तर जनतालाई डेलिभरी दिने कुरामा करिब करिब ‘जिरो’ रहेका प्रधानमन्त्री ओलीबाट आम जनता आजित भइसकेका छन् । उस्तै, अवस्था छ देउवा र ओलीबाट समेत ।
पछिल्लो २०४६ सालदेखि काँग्रेस र एमाले र २०६३ पछि थपिएको माओवादीले यो देशमा लगातार (कु)शासन गरिरहेका छन् । ओली, देउवा र प्रचण्डले नै आलोपालो शासन चलाइरहेका छन् । तर उनीहरू तीनै जना पटक-पटक ‘टेस्टेड’ भइसक्दा समेत देशमा कायम भ्रष्टाचार, बेरोजगारी, युवा पलायन, आर्थिक सुस्तता, बेथिति लगायतका तमाम समस्याहरू समाधान हुन सकेका छैनन् । बरु, उनीहरूकै कारण बढिरहेका  छन्  । जसले गर्दा अहिले नेपाली समाज ‘निराशाको काल’मा बाँचिरहेको छ । जसको पछिल्लो प्रतिबिम्ब हो, आजको प्रदर्शन ।
तर आजको प्रदर्शन त्यति मात्र पनि हैन । यो सत्तामा बसेकाहरू र राजनैतिक दलहरूलाई स्पष्ट सन्देश समेत हो – नेपाली युवा यी सबैबाट वाक्क भइसकेका छन् र परिवर्तन खोजिरहेका छन् । यो सन्देशलाई अब पनि नजरअन्दाज गरिए त्यसले नेपालमा यसअघि कहिल्यै नदेखिएको बङ्गलादेशको झैँ दुखद परिणाम ल्याउन सक्छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१