सेनाको मध्यस्थतामा राजतन्त्र फर्काउने षड्यन्त्र : बृहत नागरिक आन्दोलन

  • बालेनलाई पनि आफ्नो कित्ता प्रष्ट पार्न आग्रह
  • काठमाडौं । बृहत नागरिक आन्दोलनले नेपाली सेनाको मध्यस्थतामा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षड्यन्त्र भइरहेको भन्दै यसको कडा विरोध गरेको छ।

    बिहीबार जारी बृहत नागरिक आन्दोलनको विज्ञप्तिमा जेनजी आन्दोलनमा घुसपेठ गरेर नागरिकप्रति उत्तरदायी राज्यका संस्थाहरु र निजी क्षेत्रको भौतिक, आर्थिक र मनोवैज्ञानिक दहन गर्ने तत्वले सैनिक मुख्यालयमै सेनाको आतिथ्यमा वार्ता गरिरहेको कुरा असाध्यै डरलाग्दो र अस्वीकार्य रहेको धारणा सार्वजनिक गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘जेनजी आन्दोलनको म्यान्डेट र बलिदानीहरूको आवाज न गणतन्त्र र धर्मनिरपेक्षता हटेर पश्चगमन होस् भन्ने थियो न सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने थियो ।’

    बृहत नागरिक आन्दोलनले नेपाली सेनालाई प्रतिक्रान्तिकारीसँग सबै किसिमको अन्तर्क्रिया बन्द गर्न माग गरेको छ । राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल र कार्यक्रम गर्न आग्रह गरेको छ ।

    बृहत नागरिक आन्दोलनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि सेनालाई नागरिकको टाउकोमा टेक्न प्रेरित गरिरहेका हुन् भने तिनीहरुलाई पनि प्रतिक्रान्तिका नायक भनेर चिन्नुपर्ने बताएको छ । विज्ञप्तिमा बालेनलाई पनि आफ्नो कित्ता प्रष्ट पार्न भनिएको छ ।

    प्रतिक्रान्तिविरुद्ध रहेका जेनजी युवालाई साथ दिन समग्र नागरिक, राजनीतिक दल, पेसाकर्मी र अन्य नागरिक समूहहरूले निर्धक्क सहयोग गर्नुपर्ने बृहत नागरिक आन्दोलनले बताएको छ ।

    हेर्नुहाेस् विज्ञप्ति –

    © 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१