
काठमाडौं । नख्खु कारागार प्रशासनले फरार भएका रवि लामिछानेसहितका सबै कैदीलाई तत्काल सम्पर्कमा आउन भनेको छ । आज एक सार्वजनिक अपिल जारी गर्दै कारागार प्रशासनले भदौ २४ गते फरार भएका सम्पूर्ण थुनुवा र बन्दीलाई अविलम्ब कारागार प्रशासनको सम्पर्कमा आउन भनेको हो ।
प्रशासनले फरार अवस्थाको निरन्तरता रहँदा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन हुने समेत चेतावनी दिएको छ । साथै, त्यस अवस्थामा भविष्यमा प्राप्त हुन सक्ने सुविधा, कानुनी अधिकार तथा सामाजिक पुनर्स्थापनाको पक्रियामा समेत गम्भीर प्रतिकुल असर पर्न सक्ने चेतावनी कारागार प्रशासनको छ ।
कारागार प्रशासनले तत्काल सम्पर्कमा नआउने तथा आत्मसमर्पण नगर्ने बन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने समेत स्मरण गराएको छ ।
गत भदौ २४ गते जेनजी प्रदर्शनका दौरान नख्खुसहित देशभरका कारागारबाट हजारौँ कैदीबन्दीहरु फरार भएका छन् । नख्खु जेलबाट रास्वपा सभापति रवि लामिछानेसहित १४ सय कैदी बन्दी बाहिरिएका थिए । नख्खु कारागार प्रशासनको यस सूचनासँगै अब उनी पनि पुन कारागार फर्किनुपर्ने भएको छ ।
फरार पूर्व राज्यमन्त्री सञ्जय टकलासहित केहीलाई प्रहरीले काभ्रेको मंगलटारबाट पक्राउ गरेको छ ।