
काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित विद्यालय आइतबार देखि खुल्ने भएका छन् । महानगरको शिक्षा विभागले आज एक सूचना जारी गर्दै भोलिदेखि विद्यालयहरू खोल्न निर्देशन दिएको हो । भोलिदेखि विद्यालय खुलेपनि पठनपाठन भने सोमबारबाट मात्र हुने छ ।
“सबै शिक्षक तथा कर्मचारीहरू मिति २०८२।०५।२९ गते आइतबारदेखि विद्यालयमा उपस्थित हुने, तर उक्त दिन विद्यार्थीलाई विद्यालयमा नबोलाउने,” महानगरको सूचनामा भनिएको छ ।
महानगरले भोलि शिक्षक कर्मचारीहरूलाई विद्यालयमा उपस्थित हुन र विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाइ सम्बद्ध कार्यहरू गर्न तथा कुनै प्रकारको क्षति देखिएमा महानगरमा विवरण उपलब्ध गराउन भनेको छ ।
विद्यार्थीहरूका अभिभावकसँग सम्पर्क गरी अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालय ल्याउन र लैजाने कार्य आफैँ गर्न अनुरोध समेत भनिएको छ । अभिभावकले आफ्नो बालबालिकाको ल्याउने र लैजाने गरी जिम्मा लिएमा र परिस्थिति सामान्य भएमा सोमबारदेखि विद्यालयमा ल्याई मनोसामाजिक परामर्शसँगै अध्ययन अध्यापन गराउन महानगरको निर्देशन छ ।
अभिभावकले ल्याउने वा लैजाने अवस्था नभए भर्चुअल क्लासमार्फत सहजीकरण गर्न भनिएको छ ।