शीतल निवासमा तीन मन्त्रीकाे शपथ दृश्य: राष्ट्रियसभा अध्यक्ष उपस्थित, गएनन् सभामुख

काठमाडाैं । नयाँ सरकारका तीन मन्त्रीले सोमबार शपथ ग्रहण गरेका छन् । भदौ २४ गतेको प्रदर्शनका क्रममा आगलागी भएर जलेको शीतल निवासको प्राङ्गणमै पाल टाँगेर शपथ समारोह आयोजना गरिएको थियो ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण भने निवासभित्रको सानो कोठामा गरिएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले रामेश्वर खनाललाई अर्थमन्त्री, कुलमान घिसिङलाई ऊर्जामन्त्री तथा ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्री पदको शपथ दिलाए । घिसिङलाई ऊर्जासँगै शहरी विकास र भौतिक पूर्वाधार मन्त्रालय, अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सरकारमा वरीयताका आधारमा खनाललाई प्रधानमन्त्रीपछि दोस्रो स्थान दिइएको छ । त्यसपछिको वरीयतामा घिसिङ र अर्याल छन् । खनाल र घिसिङ प्रशासनिक पृष्ठभूमिबाट आएका हुन् भने अर्याल कानुन व्यवसायी हुन् । उनी काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहका कानूनी सल्लाहकार पनि रहेका छन् ।

प्रधानमन्त्री कार्कीले पदभार समालेको तेस्रो दिन आइतबार राति तीन मन्त्री नियुक्त गरेकी थिइन् । जेन–जीको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि ६ महिनाभित्र निर्वाचन गराउने सहमतिसहित कार्की नयाँ सरकारको नेतृत्वमा आएकी हुन् । सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

शपथ समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल उपस्थित भए पनि विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे भने अनुपस्थित रहे । प्रतिनिधिसभा भदौ २७ गते विघटन भए पनि सभामुखको पद भने कायमै छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१