
सरकारले जेनजी आन्दोलनको क्रममा क्षति पुगेका भवन तथा संरचनाहरूको मर्मत तथा पुनर्निर्माण गर्न ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान सुरु गर्ने भएको छ। उक्त अभियानअन्तर्गत स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट सहयोग संकलन गरी पुनर्निर्माण कार्य अघि बढाइनेछ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक योजना तथा यातायात र शहरी विकास मन्त्रालय सम्हालेका मन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा क्षति पुगेका भवनहरूको निरीक्षणका क्रममा सो जानकारी दिएका हुन्। उनले सिंहदरबारको मुख्य भवन र गृहमन्त्रालय क्षेत्रको स्थलगत अवलोकन गर्दै पुनर्निर्माणका लागि सहरी विकास मन्त्रालयमार्फत कार्यदल गठन भइसकेको बताए।
मन्त्री घिसिङले सामान्य रूपमा क्षति भएका भवनहरूमा रङरोगन गरेर सफा र व्यवस्थित देखाउने, आगलागीबाट बिग्रिएका सवारी साधनहरू तुरुन्त हटाउने, क्षतिको तत्काल मूल्यांकन गर्ने र ‘हामी उठ्यौं’ भन्ने सन्देश दिने गरी अभियान अघि बढाउने योजना रहेको बताए।
उनले सरकारी कार्यालयको बाहिरी स्वरूप व्यवस्थित बनाउनु जरुरी रहेको उल्लेख गर्दै सिंहदरबार परिसरमा छरिएर रहेका क्षतिग्रस्त सवारी साधनले कुरुपता थपेकोले ती हटाउने काम तुरुन्त गर्न निर्देशन दिए।