नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने एजेन्डामा सहमति नजुटेपछि कार्यसम्पादन समितिको बैठक मंगलबारसम्म सारिएको छ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, सोमबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक अब मंगलबार बिहान ११ बजे बस्ने गरी पुनः तालिका मिलाइएको हो।
गत बुधबार र बिहीबारदेखि लगातार बसेको कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डा सम्बन्धी सहमति जुट्न सकेको छैन।
आइतबार बस्ने भनिएको केन्द्रीय समिति बैठक भने मंगलबार दिउँसो एक बजेका लागि सारिएको छ र सो बैठक यथावत् रहने जानकारी मुख्यसचिव पौडेलले दिएका छन्।
महाधिवेशन मङ्सिरभित्रै गर्नुपर्ने वा नहुनेबारे नेताहरूबीच फरक–फरक धारणा रहेकोले सहमति जुट्न नसकेको उनीहरूको भनाइ छ।
