• २०८३ असार १०
  • 2026 June 24, Wednesday

रामचन्द्रको रामकहानी : प्रधानमन्त्रीमा १७ पटक पराजित, राष्ट्रपतिमा निर्वाचित

  • २०७९ फागुन २५, बिहीबार १२:१७

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा पौडेलले ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्प्रधी एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मत भार पाएका हुन् ।

जसअनुसार पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् भने नेम्वाङले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका हुन् ।
पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको साथ थियो । भने एमाले एक्लै चुनावमा होमिएको थियो ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।

रामचन्द्र पौडेलको राजनीतिक यात्रा
वीपी कोइरालालाई राजा महेन्द्रले ०१७ सालमा जेल हालेपछि त्यतिबेला १६ वर्षका रामचन्द्र पौडेल राजनीतिमा छिरेका थिए । वीपी कोइराला ०३३ सालमा भारतको निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर काम गरे पौडेलले । यद्यपि, त्यतिबेलादेखि नै पौडेलले पार्टीभित्र समन्वयकारी भूमिकाको अभ्यास गर्न थालेका थिए ।

विसं २००१ सालको असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मेका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागे । राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि आक्रोशको ज्वालामुखी बोकेर आफू राजनीतिमा होमिएको पौडेलल यसअघि बताएका थिए ।

नेपाली कांग्रेसद्वारा सञ्चालित ०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए । ०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता पौडेल ०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए । ०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत भए । ०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनामा पौडेल पनि सहभागी थिए । र, उनी संस्थापक केन्द्रीय सदस्य बने ।

त्यस्तै, ०४० सालमा पौडेललाई कांग्रेसले केन्द्रीय प्रचार समितिको संयोजक बनायो । ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा छन् ।

पञ्चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित भए । त्यसपछि बनेको सरकारमा स्थानीय विकासमन्त्री भए ।

दोस्रोपटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए । ०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष सेवा गरे । रामचन्द्र ०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित भए र ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । ०६२ सालमा कांग्रेस महामन्त्री भए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयाको संयोजक पनि थिए । ०६३ सालमा उनी शान्ति तथा पुनर्निमाण मन्त्री भए, जुन सरकारमा माओवादी पनि संलग्न थियो । ०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए । सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित भए । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौँ पटक निर्वाचित भए । ०७४ को चुनावमा एमालेका किसानकुमार श्रेष्ठसँग चुनाव हारेका पौडेल ०७९ मा तनहुँबाट नै निर्वाचित सांसद हुन् ।

पौडेलले पञ्चायती राजतन्त्रकाविरुद्ध संघर्षका क्रममा २०१९ देखि २०४६ सम्म विभिन्नपटक गरी १३ वर्ष जेल जीवन बिताएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेका छन् भने संस्कृत साहित्यमा त्रिविबाट शास्त्री पास गरेका छन् । उनी श्रीमतीसहित पाँच सन्तानका पिता हुन् ।
पौडेलका तीनवटा पुस्तक प्रकाशित छन् । प्रजातान्त्रिक समाजवादः एक अध्ययन, नेपाली कांग्रेस के भन्छ ? नयाँ सन्दर्भमा समाजवादलगायतका पुस्तक उनका कृति हुन् ।

प्रधानमन्त्रीमा पटक–पटकको पराजय
करिब ४ दशकसम्म संसदीय चुनावमा जित हात पारिरहेका पौडेलको राजनीतिक जीवनमा एउटा कालो धब्बाका रुपमा रहेको छ, प्रधानमन्त्री पदमा १७ पटकको पराजय ।

०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीनजनाबीच प्रतिस्पर्धा भयो ।

आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैँ बाहिर निस्किए । त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे । यो चुनावी श्रृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्वन्धी नियमावली नै परिवर्तन गरिएको थियो ।

  • २०७९ फागुन २५, बिहीबार १२:१७