सवारी साधनको ठक्करबाट महिलाको मृत्यु

विराटनगर । मोरङको कानेपोखरीमा पिकअप गाडीको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–७ मा शनिबार राति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीया महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

मृतक महिलाको पहिचान खुलेको छैन । पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झापाबाट इटहरी आइरहेको प्रदेश ३–०१–०२४ च ७३७७ नम्बरको पिकअपले पैदलयात्री महिलालाई ठक्कर दिएको थियो ।

ठक्करपछि सिकिस्त घाइते भएकी महिलालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । त्यहाँ पुर्याएपछि चिकित्सकले उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए ।

पिकअप र चालक ४५ वर्षीय मिलनकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१