सर्वोच्चको पूर्णपाठ नआउँदा अलमलमा एनआरएनए

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता विनोद कुवँरले एनआरएनको विधान अक्षरशः पालना गरेर अघि बढ्दा संस्था एक हुने बताएका छन् ।सर्वोच्च अदालतको फैसला अनुसार समानान्तर गतिविधिहरु गरिरहेका सबै समूह खारेज भएपछि एक समूहको नेतृत्व गरेका कुँवरले सवै एकै ठाउँमा बसेर संस्थाको हितमा काम गर्नुपर्नेमा जोड दिए ।

संघको दशौं महाधिवेशन विवादस्पद बनेपछि संघका पूर्वअध्यक्ष शेष घले निकट कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको थियो ।उक्त कार्यसमितिले सर्वोच्चमा दायर गरेको रिटमा न्यायाधीशद्वय सपना मल्ल प्रधान र डा.नहकुल सुवेदीको संयुक्त इजलासले तीनवटै (डा.वद्री केसी, आरके शर्मा र विनोद कुवँर) समूहका समानान्तर गतिविधिलाई अवैध भन्दै २०७८ माघ १ गतेको ८१ औं आइसीसीको बैठकले गठन गरेको उच्चस्तरीय समितिलाई ब्युँत्याएको छ ।

सर्वोच्चको फैसला अनुसार उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेको अध्यक्षतामा बस्ने पहिलो बैठकपछि ६ महिनाभित्र एकताको अधिवेशन गर्नुपर्ने छ । अहिलेसम्म सर्वोच्च अदालतको पूर्णपाठ आइ नसकेकाले उच्चस्तरीय समितिको बैठक बस्न सकेको छैन ।संमितिमा घलेसँगै पूर्व अध्यक्षहरुका साथै समानान्तर समितिबाट केही व्यक्तिलाई पनि थप गरिएको छ ।

कुँवरले समितिको पहिलो बैठक भौतिक उपस्थितिमा बस्ने र त्यसपछि प्रक्रियाहरु अघि बढ्ने जानकारी दिए ।उनले संयोजकका हिसावले घलेले सबैसँग छलफल गरिरहेको र हाल अष्ट्रेलियामा रहेकाले केही दिनमा नेपाल फर्किने पनि जानकारी दिए । घले नेपाल फर्किएपछि बैठक बोलाउने तयारीमा रहे पनि सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ आउन ढिला भएकाले केही समय कुर्नुपर्ने उनले बताए ।

पूर्ण पाठ आउन अझैं एक महिना जति लाग्ने सम्भावना रहेको बताउँदै एकताको अधिवेशन गर्नका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नु पर्नेमा उनले जोड दिए ।यसैगरी, सर्वोच्चको आदेश अनुसार परराष्ट्र मन्त्रालयले पठाएको चिठीका विषयमा प्रश्न गर्दा उनले आफूहरु अहिले पूर्णपाठकै प्रतिक्षामा रहेको बताए । उनले एनआरएनएको सचिवालय चलाउने जिम्मा सिईओको रहेकोले उनले उक्त पत्रको उनले कार्यान्वयन गर्नुपर्नेमा जोड पनि दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१