‘प्रधानमन्त्री प्रचण्डदेखि गृहमन्त्री रविसम्मले कान्टीय सिद्धान्त बुझे मात्रै देश बन्छ’(भिडियो सहित)

काठमाडौं । स्वतन्त्रताको व्याख्याकार इमानुएल कान्टको बारेमा आयोजना गरिएको ‘स्वतन्त्रताका ३ सय वर्ष र इमानुएल कान्ट’ विषयक अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । एक्टिभ एक्याडेमी कलेजको समाजशास्त्र विभागद्धारा राजधानीको संवाद डबलीमा आयोजना गरिएको उक्त कार्यक्रममा स्वतन्त्रका लागि पहिलो पटक सैद्धान्तिकरुप दिने जर्मन दार्शनिक इमानुएल कान्टका बारेमा चर्चा गरिएको थियो ।

विनोद डाँगीको सभापत्विमा रहेको उक्त कार्यक्रममा वक्ताहरुले दार्शनिक इमानुएल कान्टका सिद्धान्तहरुलाई तीन सय वर्षपछि नेपाली समाजमा चर्चाको सुरुवात भएको बताएका छन् । कान्टको विषयमा चर्चा गर्दै वक्ताहरूले कार्ल माक्सलाई सम्मान गरिरहँदा नेपाली समाजले जर्मन दार्शनीक इमानुएल कान्टलाई पनि बुझ्न जरुरी रहेको धारणा राखे ।

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै डा। गोपीलाल न्यौपानेले मानवमा समानता र स्वतन्त्रताको विषयलाई सैद्धान्तिक गर्ने कान्टलाई पनि भुल्न नहुने बताए ।

कान्टले मानिसका आधारभूत आवश्यकताहरुलाई सम्बोधन गर्नुलाई स्वतन्त्राकोरुपमा व्याख्या गरेको बताउँदै न्यौपानेले प्रश्न गरे,“के नेपालमा मार्कस्को सिद्धान्तले, लेनिनको आवाजले के नेपाली जनताले त्यसको पूर्ण प्राप्ति गरेका छन्?” जसलाई पूरा गर्न राज्य चाहिन्छ भनेर ३ सय वर्ष पहिले नै कान्टले भनेको कुरालाई स्मरण गर्दै भने,“ती आवश्यकता तानाशाही राज्यले पनि पुरा गर्न सक्छ, नागरिकलाई गाँस,बास,कपाससँगै बोल्न अनि साशकहरुले सुन्नेसम्मको स्वतन्त्रता भए मात्रै पूर्ण स्वतन्त्रता हुन्छ, के नेपालमा त्यो छ त, त्यसैले नेपालमा कान्टीय बिचार चाहिन्छ ल्याउनु प¥यो ।”

यसरी नेपाली विश्वविद्यालय, स्कुल कलेजमा यस्ता सैद्धान्तिक बहसहरूको खडेरी परेको बेला एक्टीभ कलेजले बौद्धिक बहसको सुरुवात गरेकोमा डा।न्यौपानेले कलेजलाई धन्यवादसमेत दिएका छन् ।

त्यसै गरी उक्त कार्यक्रमका अर्का वक्ता डा। विजय मिश्रले राजनीतिक, नैतिकता, मेटा फिजिक्स मुख्य तीन सिद्धान्तको प्रतिपादन गरेका कान्ट गणित, विज्ञान लगायतका विषयमा पनि दक्खल राख्ने बहु आयामिक क्षमता भएका व्यक्ति भएको बताए ।

कान्टको सिद्धान्त अनुसार नेपालमा समानता, समानुपातिकता, धार्मिक स्वतन्त्रताका लागि धर्मनिरपेक्षता ल्याए पनि त्यो पूर्ण नभएको बताउँदै भने,“जनतालाई भ्रममा पारेर अन्ततोगत्वा आम जनतालाई आफ्नो नियन्तरण गर्ने खालको छ ।”

कान्टले नैतिकताको कसीमा रहेर राजनैतिक मूल्य, मान्यता र कर्तव्यको अनुशासनमा रहेर शासन–सत्ता चलाउँदा मानव समाजले न्याय वा स्वतन्त्रता प्राप्त गर्ने हो भने पनि नेपालमा त्यस्तो नभएको बताउँदै मिश्रले भने,“जुन जोगी आए पनि कानै चिरेको, जस्तै : प्रचण्ड, केपी ओली, रवि लामिछानेहरूले त्यसको उल्लङघन गरेकाले कान्टलाई पढ्नु प¥यो ।”

सो कलेजमा स्नातकोत्तर दोस्रो सेमेस्टरमा अध्ययनरत विगेन्द्र सिं वाईवाले कार्ल मार्क्सलाई साम्यवादी धारको प्रवर्तकको आधार मानेका नेपाली कम्युनिस्टहरूले उनै सरहका जर्मनकै दार्शनिक कान्टको विषयमा जान्न जरुरी रहेको धारणा व्यक्त गरे ।

को हुन् इमानुएल कान्ट र उनको योगदान के हो ?

आजभन्दा ३ सय वर्ष पहिले जर्मनमा जन्मेका जीवनभर अविवाहित इमानुएल कान्टले अध्ययन,अध्यापन र सैद्धान्तिक खोजमा पूरा जीवन बिताएका थिए ।

कान्टले पहिलो नैतिकता के हो ? नैतिकवान कसरी बन्न सकिन्छ ? दोस्रो राजनैतिक क्षेत्रमा स्वतन्त्रताको बारेमा कुरा गरेका छन् जसमा उनले हरेक नागरिक वा प्रत्येक व्यक्तिले हर आवश्यकता परिपूर्तिदेखि लिएर बोल्ने–सुन्नेसम्मको स्वतन्त्रता राज्यले प्रत्याभूति सक्ने व्याख्या गरिएको छ ।

तेस्रो मेटा फिजिक्स (तत्वमीमांसा) अर्थात् ज्ञान प्राप्त गर्न सकिन्छ त ? प्राप्त हुन्छ भने कसरी हुन्छ त ? विगत र वर्तमानमा ज्ञान अनुभववाद र बौद्धिकता अर्थात् मानव इन्द्रीयहरुका आधारमा ज्ञान प्राप्त गरिन्छ ।

कान्टले यी दुवै तरिका मूलत : मानव मस्तिष्क वा दिमागमा आधारित विधिलाई अस्वीकार गर्दै त्यसबाट पूर्ण ज्ञान प्राप्त नहुने उनको बिचार थियो । तर कुनै मानिसले फाइदा बेफाइदा, हानिनोक्सानी या परिणामको हिसाब नराखी, निस्वार्थ भावले नैतिकता र कर्तव्यलाई केन्द्रमा राखेर कार्य गरेको खण्डमा ज्ञान प्राप्तिको सम्भावना रहने उल्लेख छ । यसरी यी तीन मूल सिद्धान्तलाई विश्वका कयौँ दार्शनीकहरुदेखी कार्ल मार्क्सले समेत उनको सैद्धान्तिक पृष्ठभूमि पकडेको समालोचकहरूको कथन छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१