• २०८३ साउन २
  • 2026 July 18, Saturday

यूएईमा मृत्युदण्ड सजाय सुनाइएका भुवन र पहलमान स्वदेश फर्किए

  • २०८१ साउन १६, बुधबार १२:०९

काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन् । उनीहरुले हत्या गरेको भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन् ।

भुवन गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन भने पहलमान थापामगर बुधबार बिहान काठमाडौं आइपुगेका हुन् ।भुवन पहलमानलाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषि ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो।

उनीहरूले नवलपरासीको मध्यबिन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोप छ । युएईको कानुन अनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन् । कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी)भनेर अदालतले पीडित परिवारलाई सोध्छ । भुवन र पहलमानका परिवारको आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरे ।

बिहान त्रिभुवन विमानस्थलमा ओर्लदै पहलमानले आफूहरुले हत्या नगरेको भएपनि झुटो आरोपमा फसाइएको बताए । मृत्यु भएको साँझसँगै रक्सि पिएको भएपनि त्यसपछि आ–आफ्नो कोठामा गएको र त्यसको तीन घण्टापछि मृत भेटिएको बताए ।
पहलमानले भने, ‘हामी साँझसँगै बसेर रक्सि पिएका थियौं । जुन–जुलाईको समय भएकाले त्यहाँ धेरे गर्मी थियो ।

बाबुराम धेरै नै रक्सि खाएर रुममा गएको थियो । रुममा गएको तीन–चार घण्टापछि आफै मरेको हो । त्यस घटनामा ५ जनालाई पक्राउ गरेको भएपनि अरु तीन जना पहिले नेपाल फर्किएका थिए । हामी दुई जना ६ वर्षपछि ब्लड मनि बुझाएर नेपाल फर्किएका हौं ।’

उनीहरु मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका अभियान्ताको सहयोगमा नेपाल फर्कन पाएका हुन् । उनीहरु दुवईको जेलमा रहेको र उद्धार गर्न संसदमा समेत प्रश्न उठेको छ ।

 

  • २०८१ साउन १६, बुधबार १२:०९