• २०८३ असार १४
  • 2026 June 28, Sunday

दलित, महिला, उत्पीडितको समस्यालाई संवेदनशिल भएर छलफल गर्न आवश्यक छ : अध्यक्ष दाहाल

  • २०८१ साउन १७, बिहीबार १७:४०

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले दलित, महिला, उत्पीडित जाति वर्गको विषयमा गम्भीर भएर छलफल गर्न आवश्यक रहेको बताएका छन् ।

विहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय सभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यहरुसँग संकल्प प्रस्ताव सम्बन्धमा भएको छलफलमा उनले आम जनताको समस्या भएको भन्दै सबैले संवेदनशिल भएर छलफल गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले अहिले छलफल गरेका विषय सम्बोधन हुने तरिकाले संविधानमा पनि लेखिएको छ । दलितसँग सम्बन्धित मात्र होईन्, धेरै सार्वजनिक महत्वका विषयहरु पास गरेका छौ । त्यो निर्णयहरु प्रायः अलपत्र हुने गरेका छन् । आजको समस्या यही हो । राष्ट्रिय सभाको विषयप्रति सचेत बन्दै आएको छ, त्यसमाथि पनि दलित, महिला, उत्पीडित जाति वर्गको जुन विषय हो यो संवेदनशिल नै विषय हो । समस्या आम जनताको समस्या हो त्यसकारण राष्ट्रिय समस्या हो ।’

यसको साथै, उनले यस्तो विषयहरु पारित भएर गएपनि कार्यान्वयनमा समस्या आएको भन्दै अहिलेको मुख्य समस्या पनि यही रहेको बताए ।
उनले भने, ‘यो विषयमा हामीले राष्ट्रिय सभामा प्रर्याप्त छलफल गरेर सर्वसम्मत तरिकाले नेपाल सरकार उच्च तहबाट प्रधानमन्त्रीलाई नै उपस्थित गराएर छलफल गरेका थियौं । र यसलाई अगाडि बढायौं । अहिलेको यसको कार्यान्वयनको पक्षको बारेमा गम्भीरताका साथ छलफल गर्नुपर्छ ।’

असमानताको समस्या अन्त्य गर्नका लागि जनचेतानको अभिवृद्धि र आर्थिक रुपान्तरणको आवश्यकता रहेको पनि उनको भनाई छ ।

  • २०८१ साउन १७, बिहीबार १७:४०