काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई फेरि २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
बुधवार रास्वपाको केन्द्रिय कार्यालय बनस्थलीमा बसेको बैठकले ढकाललाई एक पटक फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
यस्तै रास्वपाले असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।
उनले भने, ‘हामि राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंको कमलादी प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय भेलाको तयारीका लागि हामी सबै जुटेका छौं, आयोजक केन्द्रीय समितिलाई नै मानिने छ , त्यसअन्तर्गत उपसमितिहरु बन्ने छन् ।’
राष्ट्रिय भेलाको तयारीका लागि सातै प्रदेशमा कार्यकर्तासँग छलफल गर्ने निर्णय भएको प्रवक्ता झाले बताए ।
यस्तै रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने जनाएको छ । प्रवक्ता झाले रिक्त रहेका सबै पदमा उम्मेदवारी दिएर उप नर्वाचनमा भाग लने निर्णय भएको बताए ।
‘रास्वपा उपनिर्वाचनमा सहभागी हुनेछ, हामी भाग लिनेछौँ । त्यसका लागि आजको बैठकमा व्यापक छलफल भएको छ,’ उनले भने ।
