नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको अव्यवस्था, अदूरदर्शिता र असफलताका कारण जनतामा व्यवस्थाप्रति निराशा बढ्दै गएको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आठ महिनाअघि यस्तो गहिरो असन्तोष नदेखिएको र माइतीघर मण्डललगायतका विरोध स्थलहरू लगभग सुनसान रहेको स्मरण गराए।
उनका अनुसार, अहिले सरकारका गलत गतिविधि र प्रतिगामी शक्तिहरूको चलखेल विरुद्ध एकसाथ लड्नुपर्ने विशेष परिस्थिति सिर्जना भएको छ।
‘हामीले एकैसाथ सरकारका त्रुटिपूर्ण कामहरू र प्रतिगमनको खतरा सामना गर्नुपर्छ,’ उनले भने।
प्रचण्डले इतिहासका महत्वपूर्ण संघर्ष र बलिदानलाई कृतज्ञतासाथ सम्झनुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे।
‘हिजोका सहादतबाट प्राप्त उपलब्धिहरूमाथि अहिले प्रतिगमनको खतरा मडारिएको छ। त्यसैले, हामीले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूलाई जोगाउन सचेत हुनुपर्छ,’ उनले जोड दिए।

