प्रचण्डको प्रश्न: सरकारले जनतासँग संवाद गर्ने क्षमता गुमायो वा गर्नै चाहेन?

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार जनतासँग संवाद गर्न असक्षम भएको हो वा संवाद गर्नै नचाहेको हो भनेर प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले सरकारको विश्वसनीयता खस्किएकै कारण पुरातनपन्थी राजतन्त्र समर्थकहरू आत्मविश्वासका साथ सक्रिय हुन थालेको बताएका छन्।

‘एक समय बन्द कोठाभित्रसमेत राजतन्त्रको पुनर्स्थापनाको कुरा गर्न डराउनेहरू अहिले खुलेआम सडकमा उत्रिएर पुनर्स्थापनाको माग गरिरहेका छन्,’ प्रचण्डले भने, ‘यसका पछाडि संगठित प्रयास देखिन्छ, जसमा देशभित्र र बाहिरका शक्तिहरू संलग्न छन्।’

उनले यस्ता गतिविधिहरू पहिलेदेखि नै भइरहे पनि हाल आएर ती तीव्र रूपमा बढ्नुको कारणबारे प्रश्न उठाए। साथै, सत्तामा रहेका दलहरूको शासन शैली नै यसको प्रमुख कारक रहेको उनले बताए।

प्रचण्डले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट पार्दै राजावादीहरूलाई लोकतान्त्रिक प्रक्रियाभित्र आफ्नो स्थान खोज्न आग्रह गरे। ‘राजावादीहरूलाई मेरो सुझाव छ— लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुहोस्, हामीलाई कुनै आपत्ति छैन,’ उनले भने।

उनले लोकतन्त्र सबैको साझा प्रणाली भएकाले यसलाई असंवैधानिक रूपमा उल्टाउने प्रयासले क्रान्तिलाई निम्त्याउने चेतावनी पनि दिए। उनका अनुसार, राजावादीहरू सडक र सदन दुवैमा सक्रिय हुँदै इतिहासलाई उल्ट्याउने प्रयास गरिरहेका छन्, तर सत्तासीनहरूको कुशासनले नै लोकतन्त्रलाई थप संकटतर्फ धकेलेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१