बाग्लुङ। स्वतन्त्र बिद्यार्थी युनियनको चुनाब मुखैमा आइरहेका बेला नेविसंघ बाग्लुङमा लफडा भएको छ। बाग्लुङस्थित धवलागिरी बहुमुखी क्याम्पसमा नेविसंघको तर्फबाट अध्यक्षको टिकट कसलाई दिने भन्ने बिषयमा कुरा नमिल्दा स्थिति प्रतिकुल बन्न पुगेको हो। यद्धपि अध्यक्षको लागि आधिकारिक टिकट सृष्टी आचार्यले पाएकी छिन भने अर्का दावेदार दिपक सुबेदीले आचार्यबिरुद्ध बागी उम्मेद्वारी मनोनयन दर्ता गराएका छन्।
बिषय पेचिलो बन्दै गएको अबस्थामा स्ववियुले भने धुसपैठ गर्न खोजेको भन्दै नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य श्रीकृष्ण पौडेलमाथि कारबाहीको डण्डा चलाउने धम्की दिएको छ। चुनाब अबधिभर क्याम्पसका गैरबिद्यार्थी तथा अनाघिकृत व्यक्तिहरुलाई क्याम्पस प्रवेशमा रोक लगाइएको अबस्थामा पौडेल क्याम्पसभित्र प्रवेश गरि टिकट वितरणलाई प्रभावित गरेको र कुटपिटमै उत्रिएको आरोप लगाउँदै स्ववियु र कांगेसनिकट नेपाल मगर बिद्यार्थी संघले कारबाहीको धम्कि दिएका हुन्। क्याम्पसका पूर्वस्ववियु सभापति समेत रहेका नेविसंघका नेता मनिष थापालाई पौडेलले क्याम्पस हाताभित्रै हातपात गरेको आरोप उनीहरुले लगाएका छन्।

उता केन्द्रीय सदस्य पौडेलले भने सबै आरोपको खण्डन गरेका छन्। आफुलाई टिकट वितरणमा सहजीकरण गर्नका लागि केन्द्रले नै खटाएकोले आफु एकदमै आधिकारिक भएको उनले बताए। “जहाँसम्म हातपातको आरोप छ, पूर्वाग्रह राखेर लगाइएका यस्ता आरोपप्रति म खेद प्रकट गर्दछु।” उनले भने।

