काडमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले गणतन्त्रको सुदृढीकरणमा ध्यान केन्द्रित गर्न सुझाव दिँदै राजतन्त्रको आलोचनामा समय खेर नफाल्न गणतन्त्रवादीहरुलाई आग्रह गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्दै सांसद गुरुङले ०६२/६३ को जनआन्दोलनबाट राजतन्त्रको अन्त्य भइसकेको उल्लेख गरे।
उनले भने, “भीरबाट लडेर सकिएको बाघको लासलाई लात हानिरहनु आवश्यक छैन, त्यसरी लात हान्नेहरूकै खुट्टा गन्हाउने अवस्था आउन सक्छ। मरेको बाघको जुँगा उखेलेर पुरुषार्थ देखाउने काम अब बन्द गर्नुपर्छ।”
उनले अबको आवश्यकता संविधान संशोधन र जनपक्षीय सुधारतर्फ कदम चाल्नु रहेको धारणा राखे। “हामीले जनताको पक्षमा संविधानलाई परिमार्जन गर्दै अगाडि बढ्नु आवश्यक छ,” गुरुङले भने।
