काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियन (ईयू)को उच्च प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा काठमाडौँस्थित ईयू सदस्य राष्ट्रका राजदूतहरू र भारतस्थित गैह्रआवासीय राजदूतहरूको सहभागिता थियो।
जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न ‘सगरमाथा संवाद’ कार्यक्रममा सहभागी हुन यति ठूलो संख्यामा युरोपियन युनियन प्रतिनिधिमण्डल पहिलोपटक नेपाल आएको हो।भेटवार्तामा नेपाल–युरोपियन युनियनबीच ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरण गर्दै आपसी सहकार्य, स्थायित्व, आर्थिक विकास र सुशासन प्रवर्द्धनका विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री ओलीले सशस्त्र द्वन्द्व, जनआन्दोलन र शान्ति प्रक्रियाका विभिन्न चरण पार गर्दै नेपालको संविधानसभाबाट जारी संविधानले देशलाई आर्थिक समृद्धिको मार्गमा डोर्याइरहेको जानकारी गराए।उनले नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर गठन गरेको वर्तमान सरकार आर्थिक विकास, रोजगारी सृजना र सुशासनमा प्रतिबद्ध रहेको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरे।
“संघीय लोकतान्त्रिक गणतन्त्र अब फर्कने विषय होइन, नेपालको गन्तव्य अब स्थायित्व र समृद्धि हो,” प्रधानमन्त्री ओलीले भने। उनले भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्दै सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको पुनः पुष्टि गरे।
साथै, उनले हालै सम्पन्न सगरमाथा संवादको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै हिमालदेखि समुद्रसम्मको अवधारणामा आधारित यो संवाद शृङ्खला निरन्तर जारी रहने जानकारी गराए।प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण भइसकेको र सरोकारवालासँगको परामर्शका आधारमा दुई आयोग गठन भइसकेको उल्लेख गर्दै अब काममा ढिलाइ नहुने विश्वास व्यक्त गरे।
ईयूको निरन्तर सहयोगको प्रतिबद्धता
भेटका क्रममा युरोपियन युनियनका राजदूतहरूले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार, हरित ऊर्जा, सूचना प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।
तिनले संक्रमणकालीन न्याय प्रक्रिया निष्कर्षतर्फ उन्मुख भएकोमा प्रसन्नता व्यक्त गर्दै पीडितको न्यायमा केन्द्रित हुन आग्रह गरे। साथै, सगरमाथा संवादको सफल आयोजनाका लागि नेपाललाई बधाई दिँदै यसको दीर्घकालीन प्रभावको अपेक्षा पनि व्यक्त गरे।
