• २०८३ असार ८
  • 2026 June 22, Monday

बागमती प्रदेशसभा बैठक फेरि स्थगित

काठमाडौं।

  • २०८२ जेठ ५, सोमबार १५:१६

काठमाडौं।  बागमती प्रदेशसभाको सोमबारको बैठक कार्यसूचीमा रहेका सबै विषय हटाएर स्थगित गरिएको छ।प्रदेशसभामा पेश गर्न तयारी गरिएका विषयहरू हटाइएपछि सभामुख भुवनकुमार पाठकले बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन्।

बैठकको कार्यसूचीमा “प्रदेश चलचित्र विकाससम्बन्धी विधेयक” प्रस्तुत गर्ने र संसदीय समितिबाट पारित भएका चार विधेयकका प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको थियो।

तर सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुटेकाले बैठक अघि बढ्न सकेन। मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार र बुधबार सर्वदलीय बैठक आह्वान गरी सहमति खोज्ने प्रयास गरे पनि सहमति जुट्न नसकेको हो।

प्रतिपक्षले चालू आर्थिक वर्षको बजेटसम्बन्धी अघिल्लो सहमति कार्यान्वयन नभएको र संसद् आह्वान नगरी हिउँदे अधिवेशन अन्त्य गरेकोप्रति असन्तुष्टि जनाउँदै सरकारसँग स्पष्ट धारणा माग गरिरहेका छन्। उनीहरूले सरकारको चित्तबुझ्दो जवाफ नआउँदासम्म बैठक चल्न नदिने अडान लिएका छन्।

बागमती प्रदेशमा कांग्रेसका बहादुरसिंह लामा एमालेको समर्थनमा मुख्यमन्त्री छन्। प्रतिपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र नेमकिपा छन्। यद्यपि, नेमकिपा र हाम्रो नेपाली पार्टी भने प्रतिपक्षका साझा मागमा सहभागी छैनन्।

  • २०८२ जेठ ५, सोमबार १५:१६