• २०८३ असार ८
  • 2026 June 22, Monday

विधेयक स्वीकृतिपछि प्रतिनिधिसभा बैठक जेठ १३ सम्मका लागि स्थगित

काठमाडौं।

  • २०८२ जेठ ६, मङ्गलबार १६:५५

काठमाडौं।  प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित गरिएको छ। मंगलबार बसेको बैठकले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेपछि सभामुख देवराज घिमिरेले बैठक आगामी जेठ १३ गते, मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन्।

विधेयकको सैद्धान्तिक छलफलमा ४८ जना सांसद सहभागी भएका थिए। सांसदहरूले उठाएका सवालहरूमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जवाफ दिएका थिए। त्यसपछि विधेयक निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित गरिएको हो।

बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम तय गरिएको थियो। तर, उक्त कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको हो।

त्यसअघि पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले प्रतिनिधिसभामा ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेश गरेका थिए।

  • २०८२ जेठ ६, मङ्गलबार १६:५५