काठमाडौं। । त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रक कार्यालय, विराटनगरमा अखिल (क्रान्तिकारी)ले तालाबन्दी गरेको छ। क्रान्तिकारीको विराटनगर महानगर समितिले विभिन्न मागहरू राखेर परीक्षा नियन्त्रक डा. गोविन्द गुरागाईंको कार्यकक्षमा मंगलबार तालाबन्दी गरेको हो।
विद्यार्थी संगठनका महानगर अध्यक्ष प्रितम साहका अनुसार कोशी र मधेस प्रदेशका १०६ क्याम्पसमा अध्ययनरत बीबीएस कार्यक्रमका विद्यार्थीहरूको आंशिक मौका परीक्षाको परीक्षा केन्द्र झापा जिल्लास्थित दमक बहुमुखी क्याम्पसमा तोकिएको छ।
परीक्षा केन्द्रको निर्णयले विद्यार्थीहरूलाई लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता उत्पन्न भएको र त्यसको प्रति परीक्षा नियन्त्रक कार्यालयले बेवास्ता गरेको भन्दै संगठनले विरोध स्वरूप तालाबन्दी गरेको नेकपा (माओवादी केन्द्र) विराटनगरका विद्यार्थी इन्चार्ज शशी यादवले बताए।
उनीहरूले परीक्षा नियन्त्रक डा. गोविन्द गुरागाईंलाई लामो समयदेखि नियमित रूपमा कार्यालयमा उपस्थित नहुने आरोप पनि लगाएका छन्। अखिल (क्रान्तिकारी)ले परीक्षा केन्द्रलाई नजिकका क्याम्पसहरूमा सार्नको लागि माग गर्दै आन्दोलन अझै चर्काउने चेतावनी समेत दिएका छन्। यता, परीक्षा सह–नियन्त्रक पक्षको प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।