काठमाडौं। नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले चुरोट र रक्सीमा कर नबढाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन्। राष्ट्रियसभा बैठकको विशेष समयमा बुधबार बोल्दै उनले कर वृद्धिको पूर्वसूचना पाएपछि उत्पादन बढाएर गोदाममा सामान थुपारी बजारमा कृत्रिम अभाव सिर्जना गर्ने व्यापारीहरूको दम्भ तोड्न कर नबढाउनु उपयुक्त हुने धारणा राखे।
उनले भने, “बजेट आउँदैछ। बजेटमा करको दर बढाउने कुरा चलखेलसँग पनि जोडिएको हुन्छ। त्यसको सूचना पाउनासाथ व्यापारीहरूले उत्पादन बढाएर सामान गोदाममा भण्डारण गर्छन् र बजारमा अभाव देखाउँछन्। त्यसैले मेरो विनम्र अनुरोध छ—कम्तीमा यसपटक चुरोट र रक्सीमा कर नबढाइदिनुहोस्। त्यसपछि हेर्नुस् व्यापारीको अहंकार कति टिक्छ।”
मिश्रले भन्सार प्रणालीमा हुने चुहावट र साँठगाँठका विषयमा पनि सरकारको ध्यानाकर्षण गराउँदै भने, “भन्सारमा हाल जम्मा ५० प्रतिशत जति मात्रै राजस्व असुली हुन्छ। बाँकी सामान साँठगाँठमार्फत वैकल्पिक बाटो प्रयोग गरी भित्र्याइन्छ। यसमा सरकारको ध्यान जानु जरुरी छ।”
त्यसैगरी, उनले संसदको व्यवहारप्रति पनि टिप्पणी गर्दै सत्ता र प्रतिपक्ष दुवै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए। “जब हामी सत्ता पक्षमा हुन्छौँ, बजेटमा ताली बजाउँछौं। तर विपक्षमा पुग्नासाथ त्यही बजेटलाई परिवर्तन नगरीकनै खारेजजस्तो व्यवहार गर्छौं। यस्तो दोहोरो चरित्र अन्त्य हुनुपर्छ,” उनले भने।
उनले हाल देशमा बिचौलियाको भूमिकाबारे धेरै चर्चा हुने गरेको उल्लेख गर्दै भने, “नेपालमा हरेक क्षेत्रमा बिचौलिया हावी भएको चर्चा छ। यो लोकतन्त्रको प्रभाव हो कि संचारमाध्यमको प्राथमिकताको विषय हो, त्यो छुट्याउन सकिएन। तर हरेक क्षेत्रमा परिणाममुखी काम गर्न सक्ने दक्ष जनशक्ति आवश्यक छ।”
