काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारको विषयमा सार्वजनिक लेखा समितिका सदस्यहरूबीच आरोप–प्रत्यारोप भएको छ। बुधबार बसेको समितिको बैठकमा पोखरा विमानस्थल अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुँदा विभिन्न सदस्यहरू एकअर्काप्रति खुलेर टिप्पणी गरे।
बैठकमा बोल्दै समितिका सदस्यहरूले छानबिनका क्रममा ठेकेदार कम्पनीबाट धम्की र चेतावनी पाइएको भन्दै त्यसको सार्वजनिक रूपमा भर्त्सना गर्न लेखा समितिले विज्ञप्ति नै जारी गर्नुपर्ने माग राखे।
पूर्वमन्त्रीसमेत रहेका लेखा समितिका सदस्य प्रेम आलेले आफू वनमन्त्री रहेका बेला विमानस्थलका लागि वातावरणीय प्रभाव मूल्यांकन (EIA) स्वीकृत गरेको विषयलाई लिएर लगाइएको आरोपप्रति आपत्ति जनाए। पूर्वमन्त्री योगेश भट्टराईले आलेले इआइएको स्वीकृति दिएको उल्लेख गरेपछि आलेले त्यसको खण्डन गर्दै स्पष्ट पारे।
आलेले भने, “त्यो बेला एयरपोर्ट लगभग पूरा हुने अवस्थामा थियो। तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री भानुभक्त ढकाल पटक–पटक मेरो मन्त्रालयमा आउनुभयो र भन्नुभयो, ‘प्रेम भाइ, छिटो गर्नुपर्यो, EIA पास गर्नुहोस्।
’ मलाई पार्टीले ६ महिनाको लागि मन्त्री बनाएको थियो, त्यसैले मैले एयरपोर्ट मात्र होइन, अरूका EIA पनि स्वीकृत गरिदिएको हुँ।”उनले थपे, “अब म वनमन्त्री भएपछि EIA नगरीकन विमान उड्ने अनुमति दिन्थें र? त्यो त स्वीकृत गर्नैपर्छ। त्यसको जिम्मेवारी म लिन्छु, आवश्यक परे कठघरामा उभिन पनि तयार छु।”
त्यस्तै, उनले रिठ्ठेपानी डाँडा कटानको विषयमा पर्यटन मन्त्रालयका महानिर्देशक (डीजी) ले विमानस्थल चाँडो सञ्चालन गर्नुपर्ने भन्दै प्रक्रियालाई अघि बढाउन भनेकाले आफूले त्यसअनुसार काम गरेको स्पष्ट पारे। साथै, विमानस्थल निर्माणको क्रममा कर छुटका रूपमा दिइएको २ अर्ब २२ करोड रुपैयाँको निर्णय पनि योगेश भट्टराईकै कार्यकालमा भएको दाबी गरे।
