• २०८३ असार ८
  • 2026 June 22, Monday

बागमती प्रदेशसभामा चिट्ठा विधेयक पुन : पेस हुने तयारी

  • २०८२ जेठ ८, बिहीबार १३:५७

काठमाडौं । बागमती प्रदेश सरकारले लामो समयदेखि विवादमा परेको चिट्ठा विधेयकलाई पुनः अगाडि बढाउने तयारी गरेको छ। बिहीबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा उक्त विधेयक पेस गरिनेछ।

सरकारले चिट्ठा विधेयक पेस गर्न तयारी गरिरहेकै बेला सत्तारुढ दलहरूबीच मतभेद देखिएको थियो, जसका कारण बैठक करीब दुई घण्टा ढिलो भयो। खासगरी सत्ता साझेदार दल नेकपा एमाले ले विधेयकका केही दफाहरूप्रति आपत्ति जनाउँदै आएको थियो। तर अन्ततः एमालेले असमान दफाहरूलाई विषयगत समितिमा छलफल र संशोधन गरी अघि बढाउने सहमति दिएपछि विधेयक पेस गर्ने बाटो खुलेको हो।

संसद् सचिवालयका अनुसार, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले विधेयक संसद्मा प्रस्तुत गर्ने छन्। त्यसपछि सो विधेयक विषयगत समितिमा दफावार छलफलका लागि पठाइनेछ। एमाले बागमती संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले विधेयकमा देखिएका कमजोरीहरू समितिबाट छलफल गरी सच्याइने जानकारी दिए। उनका अनुसार विधेयकका असान्दर्भिक दफाहरू संशोधन गर्दै अघि बढाउने सहमति एमालेले दिएको हो।

यसअघि वैशाख १२ गते प्रदेशसभाबाट पारित भएको उक्त विधेयक प्रदेश प्रमुख यादवचन्द्र शर्माले जेठ १२ गते फिर्ता गरेका थिए। विधेयकको शीर्षक ‘प्रदेश स्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ भए पनि त्यसको केही प्रावधानलाई लिएर चर्को विवाद उत्पन्न भएको थियो।अब विधेयक संसद् पेस भएपछि विधायन प्रक्रियामार्फत संशोधन र पुनः निर्माणको चरणमा प्रवेश गर्ने तयारी बागमती प्रदेश सरकारले गरेको छ।

  • २०८२ जेठ ८, बिहीबार १३:५७