• २०८३ असार ७
  • 2026 June 21, Sunday

जनतासँग सुझाव माग्ने मेयर बालेन, तर कार्यपालिका बैठक अझै अनिश्चित

  • २०८२ जेठ ११, आइतबार १०:२२

काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेट तर्जुमा गर्ने क्रममा नागरिकहरूसँग प्रत्यक्ष सुझाव माग गरेको छ। महानगरले एक अनलाइन पोर्टल सार्वजनिक गर्दै नगरवासी, सरोकारवाला र साझेदारहरूको अपेक्षा समेट्ने उद्देश्यसहित सुझाव संकलन थालेको हो।

महानगर प्रमुख बालेन शाहको नेतृत्वमा सुरु गरिएको यो पहलले नीति निर्माणमा नागरिक सहभागिता बढाउने र उनीहरूको आवाजलाई प्राथमिकता दिने उद्देश्य लिएको छ। अनलाइन पोर्टलमार्फत नागरिकहरूले महानगरको पहिचान, विकास, आधारभूत सेवा, सामाजिक समावेशीकरण, लक्षित वर्गका कार्यक्रम, पहुँचयुक्त सहरी सुविधा लगायतका २३ शीर्षकअन्तर्गत आफ्ना सुझाव दिन सक्नेछन्। साथै, सम्बन्धित कागजातसमेत अपलोड गर्न सकिने व्यवस्था गरिएको छ।

महानगरले पूर्वाधार, आर्थिक, सामाजिक विकासदेखि कार्यालय तथा प्रशासन सञ्चालन र सुशासनजस्ता विषयमा सुझाव माग गरेको छ। प्राप्त सुझावहरू पोर्टलमै सार्वजनिकरूपमा हेर्न सकिने व्यवस्था पनि गरिएको छ।यद्यपि, पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँगको विवादका कारण महानगरको नीति तथा बजेट निर्माण प्रक्रिया अन्योलमा परेको छ।

कार्यपालिका बैठक २०८१ पुस १० यतादेखि बस्न सकेको छैन। कार्यपालिका सदस्यहरूले पटक–पटक बैठक बोलाउन माग गरिरहेका छन् तर मेयर शाहले बैठक आह्वान गरेका छैनन्। यसले नीति र बजेट समयमै पारित हुनेमा प्रश्न उठाएको छ। महानगरले नागरिकहरूलाई जेठ १५ गतेभित्र अनलाइन सुझाव पठाउन आग्रह गरेको छ।

  • २०८२ जेठ ११, आइतबार १०:२२