• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

कानुनले प्रेसको रक्षा गर्छ, दमन होइन :डा सुनिल शर्मा

  • २०८२ जेठ २८, बुधबार १६:१६

काठमाडौँ पत्रकार दिलभुषण पाठकमाथि जारी गरिएको पक्राउ पुर्जीप्रति तीव्र आपत्ति जनाउँदै नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप सह्य नहुने बताएका छन्। उनले संविधान र कानुनले पत्रकार र पत्रकारिताको रक्षा गर्ने प्रष्ट प्रावधान हुँदाहुँदै राज्य संयन्त्रबाट दमनको प्रयास गर्नु गम्भीर विसंगति भएको बताए।

सांसद शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पत्रकारितामाथि लागेको यो प्रहारलाई केवल एक व्यक्तिको मुद्दा नभई अभिव्यक्ति स्वतन्त्रता, प्रेसको अधिकार र लोकतान्त्रिक मूल्यहरूमाथिको ठाडो हस्तक्षेपको रूपमा व्याख्या गरेका छन्। उनले भने, “सत्ता सँग प्रश्न गर्ने र सत्य जनतासामु ल्याउने पत्रकारिता कुनै हालतमा अपराध होइन। कानुनले असन्तुष्टिलाई प्रेस काउन्सिलमार्फत समाधान गर्ने स्पष्ट बाटो दिएको छ, तर त्यो प्रक्रियालाई बाइपास गरेर पत्रकारमाथि पक्राउ पुर्जी जारी गर्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला हो।”

शर्माले पत्रकार दिलभुषण पाठकमाथिको पुर्जी तुरुन्त फिर्ता लिन आग्रह गरेका छन्। उनका अनुसार यस्तो कार्यले गलत नजिर कायम गर्नेछ र लोकतन्त्रमा प्रेस स्वतन्त्रताको जग कमजोर बनाउनेछ। “आज दिलभुषण पाठक, भोलि अरु को–कोको पालो आउँछ भन्ने डर सर्वत्र फैलिएको छ,” शर्माले लेखेका छन्।

पत्रकार पाठकमाथि सूचना प्रविधि सम्बन्धी ऐनको दफा प्रयोग गरी अदालतबाट पक्राउ आदेश जारी गरिएको थियो। उनले हालै हिल्टन होटलसँग सम्बन्धित राजनीतिक र व्यावसायिक व्यक्तिहरूको सम्बन्धबारे अनुसन्धानात्मक रिपोर्ट सार्वजनिक गरेका थिए। त्यसपछि ती समाचारलाई लिएर आपत्ति जनाइएको र सोही आधारमा उजुरी दर्ता भएको बुझिएको छ।

यस घटनाले पत्रकारिता क्षेत्र, नागरिक समाज, राजनीतिक दलहरू र मानव अधिकारवादीहरूको ध्यान तानेको छ। पत्रकार महासंघले पनि यस घटनालाई प्रेस स्वतन्त्रताविरुद्धको हमला भन्दै तत्काल पुर्जी फिर्ताको माग गरेको छ।

 

 

 

  • २०८२ जेठ २८, बुधबार १६:१६