विपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बाट चार व्यक्तित्व सम्मानित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको विपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ चार जनालाई प्रदान गरेको छ।प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा ४ जनालाई पुरस्कार वितरण गरिएको हो ।

पुरस्कृत चारै जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेका थिए । प्रधानमन्त्री ओलीले स्रष्टाहरु नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला) र भुवन ढुङ्गाना कोइरालालाई जनही एक लाख राशीसहित पुरस्कृत गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोेक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले विपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्यमा अतुलनीय योगदान गरेका जननायक बीपीले राजनीति र साहित्यमा दिएको योगदानलाई चीरपर्यन्त कायम राख्न सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत् उक्त पुरस्कारको व्यवस्था भई २०७८ मा कार्यविधि जारी भएपछि हरेक वर्ष पुरस्कार वितरण हुँदै आएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१