कांग्रेस सभापति देउवासँग भेट गर्न मुख्यमन्त्री लामा काठमाडौं आउँदै

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न हेटौँडाबाट काठमाडौँ आउन लागेका छन् । बुधबार भएको संसदीय दलको नेताको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि सभापति देउवालाई भेट्न लामा बिहीबार काठमाडौँ आउन लागेका हुन् ।

दलको नेताका लागि भएको निर्वाचनमा बानियाँले २२ मत ल्याउँदा लामाले १४ मतमात्रै ल्याएका थिए । प्रदेशमा कांग्रेसका ३७ सांसद भएकोमा  एक मत बदर भएको थियो ।

आफु काठमाडौँ आउन लागेका लामाले जानकारी दिए । ‘म सभापतिज्यूलाई संसदीय दलको नेताका लागि भएको निर्वाचन र अन्य गतिविधिबारे जानकारी गराउन आज काठमाडौँ आउँदैछु,’ लामाले रातोपाटीसँग भने ।  सभापति देउवाले बोलाएर आउन लाग्नुभएको हो भन्ने प्रश्नमा लामाले भने, ‘उहाँले बोलाउनु भएको छैन ।

म जानकारी गराउन आउन लागेको हुँ ।’नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित लामा कांग्रेस केन्द्रीय सदस्य हुन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बोलाएको कांग्रेस एमाले बैठकमा पनि बागमती प्रदेश सरकारबारे कुरा उठेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१