माओवादी स्थायी कमिटी बैठक तीन दिनमै सक्ने तयारी, ‘प्रचण्ड–जनार्दन’ विवाद पनि एजेन्डामा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक तीन दिनमा सक्ने तयारी गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेबाट सुरु हुने बैठक तीन दिनमा सक्ने तयारी गरेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए।

उनले भने, ‘आजबाट सुरु भएको बैठक तीन दिनमा सक्ने भन्ने छ। तर, परिस्थिति हेरेर हुन्छ, थप एक दिन लम्बिन पनि सक्छ।’उनका अनुसार आजको बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थिति, पार्टीभित्रकोबारे ब्रिफिङ गर्नेछन्।

उनले थपे, ‘अध्यक्षको ब्रिफिङपछि मात्रै नेताहरूलाई कति समय बोल्न दिने भन्ने तय हुन्छ। त्यहाँ पार्टी पदाधिकारीहरूले पनि आआफ्नो कुरा राख्नुहुन्छ। समग्र परिस्थितिबारे पनि छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने हुन्छ। स्थायी कमिटीलाई १० देखि १२ मिनेट औसतमा निर्धारण हुन्छ।’

बैठकले पोखरामा आएर रोकिएको अभियानबारे निर्णय लिएर केन्द्रीय समितिको मिति तय गर्ने गर्नेछ। यस्तै, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्ने र संगठन निर्माण विकास, आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुनेछ।

बैठकमा अध्यक्ष ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच चलिरहेको अन्तरसंघर्षबारे पनि यही बैठकमा छलफल हुने एजेन्डा बनेको छ। शर्माले तत्काल पूर्व निर्णय कार्यान्वयन गर्दै विशेष महाधिवेशनमा जान माग गरिरहेका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१