
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर हत्याकाण्डको १९ वर्षपछि आएको सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने तर घटनाको मुख्य दोषी तत्कालीन माओवादी भएको दाबी गरेका छन्। उनले आफ्नो पार्टी मधेसी जनअधिकार फोरमले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा माओवादीले आक्रमण गरेपछि दुखद घटना घटेको बताएका हुन्।
सर्वोच्च अदालतले १९ वर्षअघिको गौर घटनाको अनुसन्धान गर्न परमादेश जारी गरेपछि पहिलो पटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै यादवले भने, ‘सम्मानित अदालतको फैसलालाई हामी सम्मान गर्छौं। तर यो घटना घट्नुअघि सरकार, न्यायिक जाँचबुझ समिति, मानव अधिकार आयोग र राष्ट्रसंघीय मानव अधिकार आयोगले समेत अनुसन्धान गरेर निष्कर्ष निकालिसकेको थियो।’
उनले १९ वर्षपछि यो मुद्दालाई फेरि उठाउनुमा राजनीतिक उद्देश्य लुकेको हुनसक्ने आशंका व्यक्त गरे। यादवले भने, ‘यो घटनामा राजनीति कहीँ न कहीँ घुसेको जस्तो अनुमान मिडियाहरूले गरेका छन्। तर, हामीलाई न्यायमाथि विश्वास छ, त्यसैले आत्तिनुपर्ने कुनै जरुरी छैन।’
घटनाको दिनलाई स्मरण गर्दै उनले आफ्नो पार्टीले शान्तिपूर्ण सभा आयोजना गरेको तर माओवादी छापामारले आक्रमण गरेपछि जनता र छापामारबीच भिडन्त भएको बताए। ‘यो घटना दुखद थियो,’ उनले भने, ‘हामी आक्रमणकारी होइनौं, आक्रमण त हाम्रा साथीहरू र जनतामाथि भएको थियो। हाम्रो पार्टीको नीति शान्तिपूर्ण र अहिंसात्मक संघर्ष हो।’
यादवले उक्त मुद्दामा आफ्नो पार्टीलाई प्रमुख प्रतिवादी नबनाइएको पनि स्पष्ट पारे। उनले भने, ‘हामी त्यो केसको प्रमुख प्रतिवादी नै होइनौं। राज्यका निकायहरू, जस्तै प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयलाई प्रतिवादी बनाइएको छ।’
अदालतको आदेशअनुसार हुने कुनै पनि अनुसन्धानमा पूर्ण सहयोग गर्न आफू तयार रहेको बताउँदै उनले थपे, ‘न बिराउनु, न डराउनु। अनुसन्धानमा म पूर्ण सहयोग गर्न तयार छु।’ उनले न्यायिक छानबिन समितिको प्रतिवेदन नै सबैभन्दा आधिकारिक हुने र उक्त प्रतिवेदनले आक्रमणकारीलाई दोषी देखाएको जिकिर गरे।